एकेन्द्र चन्द
म त लालीगुराँस भएछु,वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु…
स्वर सम्राट नारायण गोपालको स्वरमा सजिएको यो गीत नसुन्ने विरलै छन् । हो यही गीतको भावसँग अहिले सुदूर पहाडका वन जंगल लालिगुराँस फुलेर रातै देखिएका छन् ।
यो बेला जंगलैभरि लालीगुराँस फुलेर राताम्य भएका छन् ।
अहिले यो दृश्य हामीले डोटीको बडिकेदार गाउँपालिकाको खड्यौली क्षेत्रको कैद गरेका छौँ । खड्यौली क्षेत्रमा अहिले जताततै राताम्य छ ।

वरपर लालीगुराँस फुलेका छन् । वनपाखा पूरै रमाइलो छ । कोइलीको कुहुकुहु सुरु हुन थालिसक्यो ।
अत्याधिक चिसो हुने डाँडोमा अहिले ठीक्कको मौसम छ । बिहानै पारिलो घाम लाग्छ । दिउँसो केही उखरमाउलो भए पनि साँझ पुनः उस्तै ठण्डा मौसम चल्छ । हो, यही मौसम र डाँडैभरिको राताम्य हेर्न बडिकेदारको यात्रा सोझ्याउनुस् ।
