एकेन्द्र चन्द : बडीकेदार गाउँपालिका स्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबार बाट सुरु भएको छ । बडिकेदार गाउँपालिका वडा नम्बर २ मा रहेको बर्छैन माध्यमिक विद्यालयको खेलमैदानमा प्रतियोगिता सुरु भएको हो ।
सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाटन भएको हो। उद्घाटन समारोहमा बोल्दै राज्यमन्त्री खड्काले बडिकेदार गाउँपालिकामा गाउँपालिका स्तरीय खेलमैदान नभएका कारण समस्या रहेको र गाउँपालिकामा खेलमैदान निर्माणका लागि आफूले प्रदेश सरकार र संघीय सरकारसँग समन्वय गर्ने बताउनु भयो । पछिल्लो समय युवाहरू विदेशिने क्रम बढेकाले यसलाई रोक्न तीनवटै तहका सरकारहरू लाग्नुपर्ने उहाँले बताउनुभयो।
मेहनत गर्यो भने एक दिन पक्कै सफल हुने बताउँदै बडिकेदारकै माटोमा हुर्किएका नरेन साउदले अहिले खेलकुद क्रीकेटको माध्यम बाट देश बिदेश चिनाउन सफल भएको र सफल हुनको लागि मेहनत आवश्यक रहेको बडिकेदार गाउँपालिकाका अध्यक्ष भैरब साउदले बताउनु भयो ।
खेलकुदका माध्यम बाट नयाँ खेलाडीहरु उत्पादन गर्नमा जोड दिनु पर्ने बडिकेदार गाउँपालिकाका उपाध्यक्ष डम्बरी बिष्ट ( कलेलले ) बताउनु भयो ।
उद्घाटन कार्यक्रमको सुरुमा ९ वटै बिद्यालयका खेलाडीहरुले मार्च पास गरेका थिए । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा एथ्लेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र दौड खेलमा प्रतिस्पर्धा हुँदैछ ।