डोटी, माघ १९ –डाेटीकाे बुडरमा जोरायल गाउँपालिका स्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता सम्पन्न भएको छ।
माघ १६ गतेदेखि रामपुर मावि बुुडमा सञ्चालन भएको चारदिने प्रतियोगितामा ११ विद्यालयका खेलाडीहरूले ४२ विभिन्न खेल विधामा प्रतिस्पर्धा गरेका थिए।
प्रतियोगितामा रामपुर माविले १६ स्वर्ण, ११ रजत र ९ काँस्य पदक जित्दै पहिलो स्थान हासिल गरेको छ। ११ स्वर्ण, ११ रजत र ५ काँस्य पदकसहित घण्टेश्वर मावि दोस्रो स्थानमा रह्यो भने दुर्गा माविले ३ स्वर्ण, ४ रजत र ८ काँस्य पदक जित्दै तेस्रो स्थान हासिल गर्यो।
समापन समारोह जोरायल गाउँपालिका सामाजिक विकास समिति अध्यक्ष तथा वडा नम्बर २ का अध्यक्ष वीरबहादुर दर्लामीको सभापतित्वमा सम्पन्न भयो। सभापति दर्लामीले खेलकुदलाई शिक्षा प्रणालीको अभिन्न अंगका रूपमा विकास गर्नुपर्ने बताउँदै विद्यार्थीलाई पढाइसँगै खेलकुदमा पनि सक्रिय बनाउने वातावरण सिर्जना गर्नुपर्ने धारणा राखे। उनले भने, “खेलकुदले अनुशासन, आत्मनिर्भरता र आत्मविश्वास बढाउँछ। हाम्रो गाउँपालिकाले खेलकुद क्षेत्रको प्रवर्द्धनका लागि आवश्यक पूर्वाधार निर्माणमा जोड दिनेछ।”
कार्यक्रमका प्रमुख अतिथि जोरायल गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले खेलकुद विद्यार्थीको शारीरिक तथा मानसिक विकासका लागि अत्यन्त आवश्यक रहेको उल्लेख गरे। उनले गाउँपालिकाले स्थानीय स्तरमा खेलकुद गतिविधिहरूलाई थप व्यवस्थित गर्दै खेलाडी उत्पादनका लागि पहल गरिरहने प्रतिबद्धता व्यक्त गरे।
सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् सदस्य चित्रराज भट्टले विद्यालय तहबाटै खेलकुदलाई प्रवर्द्धन गर्नु आवश्यक रहेको बताउँदै यस्ता प्रतियोगिताले नयाँ प्रतिभावान खेलाडी उत्पादन गर्न मद्दत गर्ने धारणा व्यक्त गरे।
आयोजक रामपुर माध्यामिक विद्यालयका प्रधानाध्यापक पदमराज भट्टले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पूर्ण विद्यालय, शिक्षक, खेल प्रशिक्षक, खेलाडी, अभिभावक, पत्रकार तथा अन्य सहयोगीहरूलाई धन्यवाद व्यक्त गरे। उनले भने, “यस्तो भव्य र सफल प्रतियोगिता सञ्चालन गर्न सबैको योगदान महत्वपूर्ण रह्यो। खेलाडीहरूको मेहनत, प्रशिक्षकहरूको मार्गदर्शन, विद्यालयहरूको सहकार्य, सम्पुर्णको सहयोग र अभिभावकहरूको हौसला बिना यो सम्भव थिएन। आगामी दिनमा अझ व्यवस्थित र प्रभावकारी ढंगले यस्ता कार्यक्रम सञ्चालन गर्न हामी प्रतिबद्ध छौं।”प्रतियोगितामा जनप्रतिनिधि ,विद्यालयका प्रधानाध्यापक, शिक्षक, खेल प्रशिक्षक, विद्यार्थी,सुरक्षाकर्मी , पत्रकार तथा स्थानीय व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो।