Badikedar Khabar

द्वन्द्वकालमा क्षतिग्रस्त डोटी-अछाम जोड्ने लोडेघाट सेती पुल २३ वर्षदेखि मर्मतविहीन

दिपक बहादुर विक

डोटी, माघ,२८ – जनयुद्धका क्रममा क्षतिग्रस्त भएको डोटी र अछाम जोड्ने झोलुंगे पुल २३ वर्ष बित्दा पनि मर्मत हुन सकेको छैन।

स्थानीयबासीले पटक–पटक सरकार र सरोकारवाला निकायलाई ध्यानाकर्षण गराए पनि अहिलेसम्म कुनै ठोस पहल भएको छैन। पञ्चायतको समयमा अमरबहादुर बुढाको नेतृत्वमा उक्त पुलको स्थापना गरिएको थियो।

डोटीको बोगटान फुडसिल गाउँपालिका–३, पल्चौर लोडेघाट र अछामको बस्ती चाइरा जोड्ने यो पुल २०५८ सालमा द्वन्द्वका बेला क्षति पुगेको थियो।

उक्त समयमा गोली चल्दा पुलका तरहरू ,खम्बाहरू, छियाँ छियाँ भएका छन्। यसका साथै पुलमा जिर्ण अवस्था रहेको छ। तत्कालीन शाही सेनाले “आतंककारी” भन्दै पल्चौरका ६ जना र अछामका १ जना सर्वसाधारणलाई गोली हानी हत्या गरेको स्थानीय डबल बहादुर विक बताउँछन्।


२०५८ साल असोज १९ गते राति ७:३० बजे, टेक राज जैशी, डबल राज जैशी, भट्टे कामी र एक अछामी युवतीसहित सात जनालाई शाही सेनाले गोली हानी हत्या गरेको थियो।

स्थानीयका अनुसार, अछामको चाइराबाट धान बोकेर आउँदै गरेका सर्वसाधारणहरू पुल पार गर्न लाग्दा शाही सेनाले उज्यालो पार्ने लाइट बाली उनीहरूलाई गोली हानेका थिए। दुई जनाको मृत्यु पुलमै भएको थियो, भने अन्य पाँच जना जंगलमा भागेर लुकेका थिए। तर, सेनाले खोजी गरी सेती नदी किनारमै उभ्याएर गोली हानेर हत्या गरेको थियो।

तीमध्ये एक जना, बाल बहादुर विक, भने भाग्न सफल भए। सेनाले उनलाई घाइते अवस्थामा नियन्त्रणमा लिएर चार दिनपछि हेलिकप्टरमार्फत अछामको मंगलसेन लग्यो। त्यहाँ उपचार सम्भव नभएपछि उनलाई नेपालगञ्ज लगिएको थियो। उनको हातमा गोली लागेर गम्भीर चोट परेको थियो। घाइते अवस्थामै करिब १३ वर्षपछि उनको निधन भएको उनका छोरा सुरेश विक बताउँछन्।
तत्कालीन समयमा अछाम र डोटीमा कर्फ्यु लगाइएको थियो । तर उक्त कर्फयु तोडेको र आतंककारी भन्द‌ै गोली चलाएको थियोे । तर उक्त घटनामा मारिकाले सरकारि निकायबाट राहात पाईसकेका छन्।
द्वन्द्वकालमा क्षतिग्रस्त भएको पुल अझै मर्मत नगरिएकाले स्थानीयहरू जोखिम मोलेर यात्रा गर्न बाध्य छन्। विद्यार्थी, किसान, बिरामी तथा वृद्धवृद्धाहरूलाई आवतजावत गर्न ठूलो समस्या भइरहेको छ। विशेष गरी बर्खाको समयमा पुल झन् असुरक्षित हुने स्थानीय लाल बहादुर बुढा बताउँछन्।

स्थानीय पदम बिष्ट भन्छन्, “हामीले धेरैपटक सरकारलाई ध्यानाकर्षण गरायौं, तर कुनै सुनुवाइ भएन। पुल अत्यन्तै जीर्ण छ, हिँड्दा बेस्सरी हल्लिन्छ। गाईभैंसी पार गराउन त सीधै नदीबाटै जानुपर्छ।”
स्थानीय तहका जनप्रतिनिधिहरूले पुल मर्मतका लागि कुनै पहल गरेका छैनन्। यदि तत्काल पुनर्निर्माण नभए ठूला दुर्घटनाहरू हुन सक्ने चेतावनी स्थानीयहरूले दिएका छन्।

डोटी र अछामका लागि मात्र नभई अन्य पहाडी जिल्लाहरूलाई पनि सहज बनाउने यो पुल पुनर्निर्माणमा सरकारको ध्यान नजानु दुखद पक्ष भएको स्थानीयहरूको गुनासो छ। स्थानीयहरूले तत्काल पुल मर्मत गरी सुरक्षित यात्रा सुनिश्चित गर्न माग गरिरहेका छन्।

याे पनि हेर्नुस्
Loading...