बैतडी सदरमुकाममा खेलकूद मैदान नहुँदा हिलाम्मे सडकमै भलिवल खेलाडीलाई प्रशिक्षण दिनुपर्ने बाध्यता रहेको छ । आइतवार हिलाम्मे सडकमा चिप्लेर लड्दा एक जना खेलाडीको हात भाँचिएको छ ।
असोज २० गतेदेखि सुरुहुने सुदूरपश्चिम प्रदेशस्तरीय भलिवल प्रतियोगितामा भाग लिन छनौट भएका भलिवल खेलाडीलाई प्रशिक्षण दिनेक्रममा हिलोमा चिप्लेर खेलाडी राकेश साउदको हात भाँचिएको हो । प्रदेशस्तरीय भलिवल प्रतियोगितामा भाग लिन बैतडीको सुर्नया गाउँपालिकाबाट छनौट भएका खेलाडी राकेश साउद हिलोमा चिप्लिदा बाँया हात भाँचिएको भलिवल प्रशिक्षक हरिसिंह भण्डारीले बताए ।

जिल्ला खेलकूद विकास समितिका भलिवल प्रशिक्षक भण्डारीले भने, “बैतडी सदरमुकाममा एउटा पनि गतिलो खेलकूल मैदान छैन । दशरथचन्द नगरपालिका–४, स्थित वीरेन्द्र माविको साँघुरो खेलकूद मैदान चक्रपथ सडकले खाईदियो । निकै समस्या भएको छ ।”
सुदूरपश्चिम प्रदेशको धनगढीमा हुन गइरहेको प्रदेशस्तरीय पुरुष भलिवल प्रतियोगितामा भाग लिन छनौट भएका खेलाडीलाई चक्रपथ सडकमै हिलो सफा गरेर प्रशिक्षण दिन सुरु गरिएको प्रशिक्षक भण्डारीले बताए । खेलाडी आफैले हिलो सफा गरेर भलिवल प्रशिक्षणमा सहभागी हुँदा लडेर हात भाँचिएको खेलाडी राकेश साउदले बताए । हात भाँचिएपछि खेलाडी साउद उपचारका लागि धनगढी जानुभएको छ ।
प्रदेशस्तरीय भलिवल प्रतियोगितामा भाग लिन गाउँपाकिला र नगरपालिकाबाट छनौट भएका खेलाडीमध्ये साउद उत्कृष्ट खेलाडी रहेको जिल्ला खेलकूद विकास समिति बैतडीले जानकारी दिएको छ ।सङ्घ, प्रदेश र स्थानीय सरकारले खेलकूद मैदान निर्माण गर्न चासो नदिएको जिल्ला खेलकूद विकास समिति बैतडीका प्रशिक्षक हरिसिंह भण्डारीले बताए ।
