वैशाख २,डोटी ,,डोटीका धार्मिक तथा पर्यटक स्थलहरु खप्तड र आसपासका पर्यटकीय क्षेत्रमा घुम्न आउने पर्यटकहरूको सुरक्षाको लागि अस्थायी पर्यटक प्रहरी चौकी स्थापना गरिएको छ ।

जिल्लाको दिपायल सिलगढी नगरपालिका सिलगढीमा प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको खप्तड र आसपासका क्षेत्रमा भ्रमण गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरूको सुरक्षाका लागि पर्यटक प्रहरी चौकी स्थापना भएको गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
सुदूर पश्चिमको प्रमुख पर्यटकीय गन्तव्य खप्तड र अन्य गन्तव्य भ्रमण गर्न आउने पर्यटकहरूको सुरक्षादेखि आन्तरिक तथा बाह्य पर्यटकहरूको भ्रमण अवलोकन सुरक्षित हुने हेतुुले सहायक निरीक्षक रमेश भट्टराईको कमान्डमा ७ जना प्रहरी राखेर चौकी स्थापना भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक विनोद शर्माले जानकारी दिनुभयो ।
डोटीका धार्मिक तथा पर्यटक स्थलमा आउने पर्यटकहरू माथि दुर्व्यवहार हुन नदिने, सुरक्षित अनुभूति गराएर बसाई लम्ब्याउने वातावरण बनाउने, आपराधिक क्रियाकलापमा संलग्नलाई नियन्त्रणमा लिने र पर्यटकहरूलाई गाइड गर्ने उद्देश्यले दिपायल सिलगढी नगरपालिकाको पहल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोगमा चौकी स्थापना गरिएको दिपायल सिलगढी नगरपालिकाका प्रमुख बाजि सिंह खडकाले बताउनुभयो ।
