डोटी :डोटी जिल्लाका स्थानीय तहमा आर्थिक वर्ष २०८०।८१ मा १६ करोड ५२ लाख ९९ हजार रुपैयाँ बेरुजु देखिएको छ ।
महालेखा परीक्षकको ६२औं वार्षिक प्रतिवेदन अनुसार डोटीका ९ वटा स्थानीय तहमा गरी उक्त बेरुजु देखिएको हो ।
महालेखा कार्यालयको प्रतिवेदनअनुसार सबैभन्दा बढी बेरुजु बडिकेदार गाउँपालिकामा देखिएको छ । ७२ करोड ३० लाख ९१ हजार रुपैयाँको लेखापरीक्षण हुँदा ४ करोड १३ लाख १४ हजार रुपैयाँ बेरुजु देखिएको हो ।
यद्यपि, पालिकाका अध्यक्ष भैरव बहादुर साउदले बेरुजु घटाउने प्रयासमा आफू निरन्तर लागिरहेको बताउँदै सुधारात्मक कदमहरू चालिएको दाबी गरेका छन् ।

त्यसैगरी, शिखर नगरपालिकाको १ अर्ब २२ करोड ३८ लाख ६८ हजार रुपैयाँ लेखापरीक्षण हुँदा ४ करोड ९ लाख २९ हजार रुपैयाँ बेरुजु देखिएको छ । आदर्श गाउँपालिकामा ८० करोड ७४ लाख ६८ हजार रुपैयाँको लेखापरीक्षण गर्दा १ करोड ६७ लाख ३१ हजार रुपैयाँ बेरुजु देखिएको छ ।
सायल गाउँपालिकाको लेखापरीक्षण रकम ८९ करोड ६२ लाखमा १ करोड २५ लाख ७३ हजार रुपैयाँ बेरुजु देखिएको छ भने बोगटान फुड्सिल गाउँपालिकामा ९९ करोड ७९ लाख रुपैयाँको लेखापरीक्षणमा १ करोड ३३ लाख रुपैयाँ बेरुजु देखिएको हो ।
दिपायल सिलगढी नगरपालिकामा १ अर्ब ५० करोड ६६ लाख रुपैयाँ लेखापरीक्षण हुँदा १ करोड ८८ लाख रुपैयाँ बेरुजु देखिएको छ ।
पूर्वीचौकी गाउँपालिकाको लेखापरीक्षण रकम १ अर्ब ११ करोड ८५ लाखमा १ करोड ३ लाख रुपैयाँ र जोरायल गाउँपालिकाको १ अर्ब १६ करोड ७९ लाख रुपैयाँ लेखापरीक्षणमा ९८ लाख ६७ हजार रुपैयाँ बेरुजु देखिएको छ ।
सबैभन्दा कम बेरुजु केआईसिंह गाउँपालिकामा देखिएको छ ।
९५ करोड ६ लाख रुपैयाँको लेखापरीक्षणमा ३२ लाख ५० हजार रुपैयाँ मात्रै बेरुजु देखिएको छ ।
