
धनगढीमा बुधवारबाट सञ्चालन हुने सुदूरपश्चिम प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जनाएको छ । सुदूरपश्चिम खेलकुद परिषद्ले आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताको तयारी पुरा भएको जनाएको हो । साथै आजै प्रतियोगिताको ट्रफी र खेल तालिका पनि सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको खेल तालिका अनुसार बुधवार उद्घाटन खेलमा कञ्चनपुर र अछाम आमनेसामने हुने भएका छन् ।
प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता २०७८ सुदूरपश्चिम खेलकुद परिषद्को वार्षिक कार्यक्रम अनुसार असोज २३ गतेसम्म धनगढीमा आयोजना हुन गइरहेको हो । प्रदेशका ९ वटा जिल्लाका टिमहरूले सहभागिता जनाउने प्रतियोगिताको विजेतालाई नगद १ लाख सहित ट्रफी दिइने पत्रकार सम्मेलनमा सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव दीपकबहादुर सिंहले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको उपविजेतालाई नगद ५० हजार सहित ट्रफी दिइने छ । प्रतियोगिताको सेमिफाइनलसम्म पुग्ने दुई टिमलाई २५÷२५ हजार नगद सहित ट्रफी दिइनेछ भने विभिन्न ५ वटा विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार दिइनेछ ।
