धनगढी, २७ कार्तिक । नेकपाका महासचिव विप्लवले कैलाली कारागारका बन्दीहरूसँग भेटघाट गरेका छन्। दलित मुक्ति मोर्चा नेपालको पाँचौँ राष्ट्रिय सम्मेलन उद्घाटन गर्न धनगढी आइपुगेका महासचिव विप्लवले धनगढी कारागार पुगेर पार्टी निकट बन्दीसँग भेटघाट गरेका हुन्।

महासचिवले कैलाली कारागारमा पुर्पक्षका लागि थुनामा रहेका लक्ष्मण सेराला ‘रोहित’, राजेश थापालगायत कैदीबन्दीसँग भेटघाट गरेको जनाइउको छ। पार्टीमाथि प्रतिबन्धकै क्रममा राजद्रोह, सङ्गठित अपराधसमेतका मुद्दामा थुनामा रहेका रोहितलगायत कार्यकर्तालाई भेटेर महासचिव विप्लवले जेलमोर्चा पनि क्रान्तिकै एक महत्वपूर्ण मोर्चा भएको बताउँदै सरकारसँगको सहमतिअनुसार सबै मुद्दा फिर्ता हुने र नेता–कार्यकर्ता रिहा हुने विश्वास व्यक्त गरे।
भेटका क्रममा रोहितलगायत कार्यकर्ताले सहमतिअनुसार रिहाइको प्रक्रियामा विलम्ब भएको, राज्यले उचित उपचारको प्रबन्ध नगरेको, कारागारभित्र क्षमताभन्दा बढी कैदीबन्दी हुँदा बसाइमा समस्या रहेको, पार्टीले कैदीबन्दीका समस्यामा आवश्यकताअनुसार ध्यान दिनुपर्नेलगायत गुनासो गरेका थिए।
