धनगढी,२८ कात्तिक-
कैलाली प्रहरीले लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भुपेन्द्र बडुवालको हत्या घटनामा संलग्ताको आरोपमा थप एक जनालाई पक्राउ गरेको छ ।
यसअघि, आठ जनालाई पक्राउ गरेको प्रहरीले लम्कीबाट विकास खड्कालाई पक्राउ गरेको हो । यो संगै सो घट्नामा संलग्नताको आरोपमा पक्राउ पर्नेको संख्या नौ पुगेको छ । सात जना अझै फरार रहेका इलाका प्रहरी टीकापुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए ।
हत्याका योजनाकार भनिएका नविन रावल अझै पनि फरार अवस्थामा छन् । उनीसहित फरार रहेका सबैको खोेजीकार्य भइरहेको प्रहरीले जनाएको छ । गएको मंगलबार टीकापुर नगरपालिका–१ मा बडुवालको हत्या भएको थियो । उनको हत्यामा संलग्न रहेको भन्दै प्रहरीले आठ जनालाई पहिले नै पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–३ का २० वर्षीय आर्यन देवकोटा, २४ वर्षीय महेश रावल, २० वर्षीय धीरज शाही, लम्कीचुहा–१ का २२ वर्षीय कपिल श्रेष्ठ, १८ वर्षीय निशान मल्ल रहेका छन् । यसैगरी, टीकापुर नगरपालिका–१ का २२ वर्षीय प्रविन रिमाल, २१ वर्षीय रोहित आले र २६ वर्षीय सोहन शाह पनि पक्राउ परेका छन् ।