Badikedar Khabar

सीमावर्ती बस्तीका नेपाली वर्षौंदेखि लालपुर्जाविहीन

सीमावर्ती क्षेत्रमा नेपाली भूमिको रक्षा गरेर बसेका मोहना नदी पारी पर्ने कैलालीको मोहनपुर, शिवरत्नपुर र हौसलपुर गाउँका बासिन्दा जग्गाधनी प्रमाणपुर्जाबाट वञ्चित छन्। आफू बसेको ठाउँको जग्गाधनी प्रमाणपुर्जा नहुँदा उनीहरू सरकारी सुविधाबाट वञ्चित हुँदै आएका छन् ।

सीमामा भारतीयको ज्यादती सहेर नेपाली भूमिको संरक्षण गरिरहेको भए पनि जग्गाधनी प्रमाणपुर्जा नदिएकोमा राज्यसँग उनीहरूको गुनासो छ । लालपुर्जा नहुँदा सरकारले कृषिमा दिने अनुदान र सहयोग उनीहरूले पाएका छैनन् । बैंक, सहकारीलगायत वित्तीय संस्थामा जग्गा धितो राखेर कारोबार गर्नसमेत नपाएको स्थानीयले बताएका छन् ।

आफूहरू ४० वर्षदेखि बस्दै आएको ठाउँको लालपुर्जा अहिलेसम्म नपाएको मोहनपुरका स्थानीय सुनील चौधरीले बताए ।लालपुर्जाका लागि पटकपटक विभिन्न निकाय धाए पनि कसैले नसुनेको उनले गुनासो गरे। ‘कृषि अनुदानको सिँचाइ ट्युबेल, कृषि मिटर राख्न लालपुर्जा खोज्छ। तर, हामी कसैसँग पनि लालपुर्जा छैन।’ उनले भने, ‘लालपुर्जा नहुँदा सरकारी सुविधा लिन पनि समस्या छ।

लालपुर्जा नहुँदा बैंकिङ कारोबारबाट पनि आफूहरू वञ्चित रहेको अर्का स्थानीय विष्णु चौधरीले बताए ।  सीमानाकामा भारतीयको ज्यादती सहेर बसिरहेका नेपालीलाई सरकारले बेवास्ता गरेको उनको गुनासो छ। बस्तीले नेपाली भूमि अतिक्रमण हुनबाट जोगिए पनि लालपुर्जा नहुँदा सरकारबाट हेपिएको महसुस हुने गरेको चौधरीले बताए। ‘हामी भारतीयको ज्यादती सहेर बसेका छौँ ।

भारतीय सुरक्षाकर्मी कहिलेकाहीँ गाउँमै आएर दुर्व्यवहार गर्छन्,’ उनले भने, ‘सिमानाको संरक्षण गरेर बसेकालाई जग्गाधनी प्रमाणपुर्जा दिएर सरकारले अपनत्व देखाउन सकेको छैन।’ बस्ती नभएको भए यस क्षेत्रको नेपाली भूमि अतिक्रमण भइसकेको हुने उनको दाबी छ। सीमाक्षेत्रमा खटिएका भारतीय सीमा सुरक्षा बल (एसएसबी) र वन रक्षकले वेलावेलामा गर्ने दुर्व्यवहार र गाउँमै समेत आएर गर्ने ज्यादतीबारे सीमावर्ती क्षेत्रका स्थानीय खुलेर बोल्नसमेत डराउँछन्।

याे पनि हेर्नुस्
Loading...