Badikedar Khabar

राजनीतिक अस्थिरताका वेला एमसिसी अनुमोदन गर्न खोजियो : भीम रावल

एमाले उपाध्यक्ष भीम रावलले राजनीतिक अस्थिरता भएका वेलामा एमसिसी अनुमोदन गर्ने षड्यन्त्र भइरहेको बताएका छन् । शनिबार काठमाडौंमा अछाम जिल्लाका एमाले नेता तथा कार्यकर्ताहरूको छलफल कार्यक्रममा रावलले राजनीतिक अस्थिरता भएका वेलामा संसद्बाट अनुमोदन गर्ने षड्यन्त्र भइरहेको बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसीको उपाध्यक्षलाई नेपाल बोलाएर नेताहरूको घरघरमा पु¥याउन लागेको पनि बताए । उनले एमसिसी पास गरेर देशलाई उपनिवेश बनाउन लागेको भन्दै त्यसका विरुद्धमा आवाज उठाउन पनि नेता, कार्यकर्तालाई आह्वान गरे ।

उनले भने ‘झिलिमिली’  हुन्छ यो देश भनेर जनतालाई भ्रम छरेर नेपाललाई उपनिवेशीकरणको बाटोमा पु¥याइँदै छ । नेपाललाई पराधीन बनाउन पाइँदैन भनेर आ–आफ्नो ठाउँबाट आवाज उठाउनुस् । जसरी बेलायतीहरूले भारतमा इस्ट इन्डिया कम्पनी खोले त्यो इस्ट इन्डिया कम्पनीभन्दा खतरनाक छ एमसिसी ।

जसरी अस्थिर राजनीति भएका वेलामा अगाडि बढाइयो, आज अस्थिर राजनीति भएका वेलामा अब यसलाई अनुमोदन गर्ने षड्यन्त्र हुँदै छ ।’

एमसिसी सम्झौता असमान भएको र सार्वभौमिक समानताको सिद्धान्तअनुरूप नभएको उनले बताए । एमसिसीको कतिपय प्रावधानले नेपालको आत्मनिर्णयको अधिकार र स्वाधीनतामाथि हमला गर्ने पनि उनले बताए । एमसिसीको सम्बन्धमा नेपालका रेडियो तथा टेलिभिजनबाट विज्ञापन बजाएर राष्ट्रकै अपमान गरिएको उनको तर्क छ ।

रावलले सरकार गठन भएको दुई महिना हुन लाग्दासमेत मन्त्रिपरिषद् विस्तार हुन नसक्नु वर्तमान सरकारको अयोग्यता र भागबन्डाको राजनीतिको विकृतिको नमुना भएको उल्लेख गरे । उनले जयसिंह धामी प्रकरणमा परराष्ट्र मन्त्रालय र स्वयं प्रधानमन्त्री पनि बोल्न नसकेको भन्दै आफ्नो राष्ट्रको हक, अधिकार र स्वाधीनताको अपमान हुँदा बोल्न नसक्ने मान्छे योग्य नागरिक पनि नहुने टिप्पणी गरे ।

याे पनि हेर्नुस्
Loading...