राजन कुईंकेल ।
नेपाली कांग्रेसको चौधौं महाधिवेशनको कार्यक्रम अन्ततः लामो समयको अलमलपछि शुक्रबार भदौं १८ गतेबाट शुरु भएको छ । महाधिवेशनको पहिलो कार्यक्रमअन्तर्गत सबैभन्दा तल्लो इकाई वडा अधिवेशन शुरु भएको छ ।
यद्यपि, कांग्रेसले एकसाथ देशैभर एकैदिन वडा अधिवेशन गर्ने दाबी गरिरहँदा पूर्व निर्धारित मिति १८ भदौंमा जम्मा ५६ जिल्लाका वडामा मात्र अधिवेशन सम्भव भयो । बाँकी जिल्लाले पनि आफूनुकूल समयमा अधिवेशन गर्ने गरी मिति तोकेका छन् । यसो गर्दा पनि २१ भदौंभन्दा पर वडा अधिवेशनलाई लैजान पाइने छैन ।
चार वर्षे कार्यकालका लागि निर्वाचित वर्तमान सभापति शेरबहादुर देउवाले महाधिवेशन भने संवैधानिक संकट नआउँदासम्म गराएनन् । कांग्रेसमा सबैभन्दा ठूलो विवादको जड मानिएको क्रियाशील सदस्यमा आफ्ना मान्छे भर्ती गर्ने लज्जाजनक खेलका कारण पछिल्ला वर्षहरुमा कांग्रेसको महाधिवेशन समयमा हुन छाडेको छ ।
त्यसैको परिणाम चार वर्षे कार्यकालका लागि चुनिएका देउवाले विधान र संविधानले दिएका सबै छिद्रलाई प्रयोग गरेर आफ्नो पदावधि लम्ब्याए । हुँदाहुँदा महाधिवेशन नगराए पार्टी नै अवैध/गैरकानूनी हुने भएपछि बल्ल अधिवेशन गराउन बाध्य भए । बाँकी कार्यसमितिका सदस्य सभापतिलाई छेक्नेभन्दा लाचार छायाँ झै लतारिए ।
१३ औं महाधिवेशनमा प्रतिष्पर्धी रामचन्द्र पौडेललाई हराएर सभापति बनेका देउवा यस पटक पनि आफू स्वयं सभापतिको आकांक्षी हुन् । तर उनको यो आकांक्षालाई अघिल्लो पटक जस्तो यस पटक आफ्नै शिविरभित्र निर्विकल्प समर्थन रहेन ।
१४ औं महाधिवेशनमा सभापति बनाउने बचन दिएर अघिल्लो पटक सहयोग लिएका निकटतम सहयोगि बिमलेन्द्र निधि यस पटक पनि देउवाले नछाड्ने भएपछि सभापतिमा उम्मेदवारी घोषणा गर्दै अगाडी बढेका छन् । यसअलवा देउवा शिविरकै गोपालमान श्रेष्ठले पनि सभापतिमा दाबी गरेका छन् ।