कैलाली,२२ मंसिर । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले एकैदिन १ सय ३२ अटो रिक्सालाई कारबाही गरेको छ । अत्तरिया बजारमा आवश्यक कागजात बिनै संचालमा रहेका १ सय ३२ अटो रिक्सालाई मंगलबार कारबाही गरेको हो ।
जसबाट ट्राफिक प्रहरीले ६६ हजार राजश्व सङ्कलन गरेको छ । ट्राफिक प्रहरीले मंगलबार नियन्त्रणमा लिएका विद्युतीय र पेट्रोलवाला १ सय ३२ अटो रिक्सा चालकहरूसँग लाइसेन्स लगायत आवश्यक कागजात नभेटेपछि कारबाही गरेको थियो । प्रति अटो ५ सयका दरले ट्राफिक प्रहरीले ६६ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको हो ।
लाइसेन्स बनाउन पटक पटक आग्रह गरेको भए पनि त्यो कुरालाई बेवास्ता गरेर लाइसेन्स बिनै सञ्चालन गरेको पाएपछि जरिवाना गरिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख बामदेव गौतमले बताए ।अत्तरिया बजार क्षेत्रमा कति अटो रिक्सा छन् भन्ने यकिन तथ्याङ्क नभए पनि ३ सय ५० को हाराहारीमा अटो रिक्सा रहेको अनुमान ट्राफिक प्रहरीको छ । जसमध्ये १ सय जतिको मात्रै आवश्यक कागजात भएको प्रहरीको भनाई छ ।