नेकपा एमालेको विभाजन प्रतिनिधि सभाको विघटनबाट सुरु भएको हो । नेकपाको पालादेखि नै नेतृत्वले भिन्न मत राख्ने पक्षलाई बराबरी ठाउँ नदिएको अथवा न्यायपूर्ण ढङ्गले पद र जिम्मेवारीको विभाजन गरेन भन्ने विवाद थियो । जब केपी ओलीले प्रधानमन्त्रीको रुपमा प्रतिनिधि सभाको विघटन गर्नुभयो, त्यसपछि विवाद सडक आन्दोलनको रुपमा आयो । विभाजन रोक्न केही नेताहरु लागे पनि सफल भएनन् ।
पार्टीभित्र पहिलेदेखि नै एकता थिएन । त्यसैले पार्टी फुट्नु कुनै आश्चर्यको कुरा पनि होइन । अहिले पार्टी विभाजन हुनुमा माधव नेपालको कुण्ठा तथा केपी ओलीको अहङ्कार र हठ प्रमुख कारणका रुपमा देखिएका छन । यी दुवै कुरा मिलेर एमालेमा फुट भएको हो ।
बाहिरी शक्ति जहिले पनि सहायक शक्तिका रुपमा रहन्छ । यो उत्प्रेरकको रुपमा मात्र रहन्छ । त्यो मुख्य कारणको रुपमा हुँदैन, मुख्य कारण त पार्टीभित्र नै हुन्छ । नेकपा एमाले पनि पार्टी भित्रकै कारणले फुटेको हो। ओलीले अध्यक्षको रुपमा राम्रोसँग पार्टी सञ्चालन गरेको भए आज फुट्नुपर्ने जरुरी थिएन । त्यसैले पार्टी फुट्नुको मुल दोष शीर्ष नेतृत्वलाई नै जान्छ।
केपी ओलीको तुलनामा माधव नेपालसँग शक्ति कम होला । तर सेनाको सङ्ख्या कमी र बढी हुनुले विजयी को हुन्छ भन्ने कुराले छिनोफानो गर्दैन । जोसँग देशलाई अगाडि बढाउन सक्ने एजेण्डा छ, देशलाई फेर्ने, नागरिकको मन जित्ने एजेण्डा छ अन्ततः त्यसैको जित हुन्छ । अहिले माधव नेपालको एजेण्डा प्रष्ट भएको देखिँदैन । उहाँले एजेण्डा कसरी ल्याउनु हुन्छ, अघिल्लो पार्टीभन्दा यो पार्टी कुन अर्थमा पृथक र कुन अर्थमा उन्नत छ भन्ने कुरामा भर पर्छ ।
दुवैतिर रहेका नेताहरुका आआफ्नै स्वार्थ हुन सक्छन् । १० बुँदे सहमति हेर्दा, यसमा आफ्नाे बिग्रेको पार्टी बनाउने कुनै सर्त छैन । दश बुँदे सहमतिको अध्ययन गर्दा गणितीय एजेण्डा मात्रै देखिन्छन् । जेठ दुईमा फर्कने, त्यसपछि सबै ठिक भइहाल्छ भन्ने एजेण्डा मात्रै छ । तर एमालेमा जुन वैचारिक राजनीतिक समस्या आएको छ, त्यो खालको समस्या सच्चिने सम्भावना मैले देखेको छैन ।
फुट्नेहरुले पनि आफ्नाे औचित्य सिद्ध गर्न सक्नु पर्छ । १० बुँदे सहमतिलाई पालना गर्नुभएको छैन, त्यो मलाई अचम्म लागेको छैन । तर जेठ दुई २ उहाँहरु जानु भएन, उहाँहरुको एजेण्डा के त ? ओलीको भन्दा पृथक, उन्नत र देश बदल्ने एजेण्डा के छ ? यी कुरा उहाँहरुले सावित गरेर देखाउनु पर्छ । हैन भने, जसरी यो भन्दा पहिले अरु फुट्नेहरु हराएर गए त्यसैगरी उहाँहरु पनि हराउनु हुन्छ । त्यसैले औचित्य सिद्ध गर्न उहाँहरुको व्यवहारमा देखिनु पर्छ ।
फुटेर जानेहरु सफल भएका उदाहरण पनि छन्
फुटेर जानेहरु सबै असफल मात्रै भएका छन् भन्न मिल्दैन । नेकपा एकता केन्द्रबाट माओवादी फुटेको हो । सिङ्गो नेकपाबाट फुटेर नेकपा माले बन्यो । मात्रिकाको पार्टीबाट वीपीको पार्टी फुट्यो । यी फुटेर सफल भएका छन् त । त्यसैले सबै खराब पनि छैनन् र सबै असल पनि छैनन् । अहिलेको फुटले सकारात्मक असर पार्छ या नकारात्मक असर पार्छ यो थाहा पाउन केही समय कुर्नै पर्छ । फुटको औचित्य सिद्ध गर्न सके सकारात्मक असर पनि देखिन सक्छ ।
नेपाली नागरिक र देशलाई अगाडि लैजाने, ओलीको पार्टी भन्दा पृथक र उन्नत ढङ्गले अगाडि बढाउने कुरा आयो भने यो कुरा राम्रो हुन्छ । यसले अहिले थोरै असर पारे पनि पछि दीर्घकालीन रुपमा राम्रो असर पार्न सक्छ । यस्तो हुन नसके यसबाट नेकपाको राजनीतिक शक्तिमा दीर्घकालीन रुपमा धेरै ठूलो नोक्सान गर्नेछ ।
एमाले र नेकपा एकीकृत समाजवादीमा कागजमा मात्र फरक
एमाले र माधव नेपालको नेकपा एकीकृत समाजवादीमा केही फरक देखिन्छ । उहाँहरुको घोषणा पत्र हेर्दा फरक देखिन्छ, तर त्यो कागज मात्र हो । त्यसैले घोषणा पत्र हेरेर मात्र केही भन्न सकिने अवस्था छैन । लिखितमा राम्रो छ, तर कागजको कुरा व्यवहारमा हेर्न बाँकी छ । कागज हेरेर मात्र राम्रो/नराम्रो छुट्याउनु भन्दा पनि व्यवहारमा हेरेर भन्नु ठिक हुन्छ । माधव नेपालको पार्टीको नाममा समाजवादका, राष्ट्रघाती कुराहरु नगर्ने, प्रतिगमनको विरोध, युवाहरुलाई प्राथमिकता दिने जस्ता थुप्रै कुराहरु गरिएको छ ।