Badikedar Khabar

काँग्रेसका ४१८ प्रतिनिधिसुदूरपश्चिमबाट

धनगढी, २३ मंसिर

नेपाली काँग्रेसको महाधिवेशनका लागि सुदूरपश्चिम प्रदेशबाट चार सय बढी प्रतिनिधि काठमाडौं पुगेका छन्। शुक्रबारदेखि सुरु हुने १४औं महाधिवेशनमा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको गृह प्रदेश सुदूरपश्चिमबाट ४ सय १८ जना महाधिवेशन प्रतिनिधि सहभागी हुने छन्।

निर्वाचन समितिका अनुसार ५ निर्वाचन क्षेत्र रहेको कैलालीबाट १३० जना महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन्। यस्तै ३ निर्वाचन क्षेत्र रहेको कञ्चनपुरबाट ७९ जना र २ निर्वाचन क्षेत्र रहेको अछामबाट ५२ जना महाधिवेशन प्रतिनिधि छन्।

एउटा मात्र निर्वाचन क्षेत्र रहेको डडेल्धुराबाट देउवासहित २६ जना, बैतडीबाट २७, दार्चुलाबाट २७, डोटीबाट २६, बझाङबाट २६ र बाजुराबाट २६ प्रतिनिधि सहभागी हुनेछन्। प्रदेशका ४ सय १८ प्रतिनिधिमध्ये ७० प्रतिशत देउवाको पक्षमा रहेको दाबी सो समूहका नेताहरुको छ।

सात जिल्लामा अधिवेशन सम्पन्न भएकोमा चार जिल्लामा देउवा पक्षका सभापति विजयी भएका छन् भने प्रदेश सभापतिमा पनि देउवा पक्षकै वीरबहादुर बलायर विजयी भएका छन्। तीन जिल्ला सभापति जितेको संस्थापन इतर पक्षले भने अघिल्लो महाधिवेशनको तुलनामा यस पटक आफ्ना प्रतिनिधि बढी विजयी भएको दाबी गरेको छ।

याे पनि हेर्नुस्
Loading...