Badikedar Khabar

अस्ताए आमा, दिदीबहिनीका गीत गाउने टुहुरे

नेपाली समाजलाई उचनिचको व्यवहारबाट दोस्रो दर्जामा पारिएका महिलालाई विद्रोहको झण्डा बोक्न प्रेरित गर्ने वरिष्ठ जनगायक जेबी टुहुरेको निधनबाट नेपालको साङ्गीतिक क्षेत्रमा अपूरणीय क्षति भएको छ ।

खास नाम जुठबहादुर खड्गी भए पनि नेपालीले उहाँलाई जेबी टुहुरे भनेर नै चिने । जनताको गीत गाउने गायकको खास परिचय बनाउनुभएका उहाँको उपचारको क्रममा आज निधन भएको हो । केही दिन पहिले आफ्नै घरमा लड्नुभएका टुहुरेको बल्खुमा रहेकाे वयाेधा अस्पतालमा ७८ वर्षकाे उमेरमा निधन भएको हो ।

उपचारमा संलग्न चिकित्सकले उहाँलाई स्ट्रोक भएको बताउनुभएको थियो । उहाँलाई सीसीयूमा राखेर उपचार गराइएको थियो । विसं २०२४ देखि निरन्तर जनताको गीत गाउँदै आउनुभएका टुहरेको धेरैजसाे गीत लोकप्रिय छन् । टुहुरेको ‘बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुँदो छ, लाखौँका लागि उजाड छ यो देश मुठ्ठीभरिलाई त स्वर्ग छ’ भन्ने गीत पनि उत्तिकै चर्चित छ ।

विसं २०२८ देखि सुरु भएको झापा विद्रोह र त्यसपछि सिर्जना भएको राजनीतिक अवस्थाले धेरैजसो नेता, कार्यकर्ता विस्थापित भए । टुहुरे भने त्यतै गाउँगाउँमा गीत गाउँदै लुकीलुकी हिँड्नुभयो । उहाँ त्यति बेला कोशी प्रान्तीय परिषदमा सङ्गठित हुनुहुन्थ्यो ।

पञ्चायतकालमा आफ्ना अधिकारको कुरा गर्नु नै अपराधजस्तो ठानिन्थ्यो । त्यसै बेला गीत गाएर मानिसको अधिकारको कुरा गर्नु कति जोखिमपूर्ण थियो होला ? उहाँले सुनाउनुभएको थियो ।

धरानको सैनिक भवनमा विसं २०३३ मा पहिलो पटक ‘आमा दिदीबहिनी हो’ भन्ने गीत गाएको उहाँले सुनाउनुभएको थियो । त्यसपछि यो गीत कति पटक गाएँ भन्ने आफैँलाई हेक्का नभएकाे उहाँले बताउनुभएकाे थियाे ।

सुनसरीको धरानका स्थायी बासिन्दा रहनुभएका टुहरेलाई नेकपा माओवादी केन्द्रले दोस्रो संविधान सभामा समानुपातिक प्रणालीअन्तर्गत संविधान सभा सदस्य बनाएको थियो । संविधान सभामा पनि उहाँले आफ्नै लोकशैलीमा धारणा राख्ने गर्नुहुन्थ्यो ।

याे पनि हेर्नुस्
Loading...