Badikedar Khabar

नेपालमा खेर गइरहेको बिजुली बंगलादेशले खरिद गर्ने

काठमाण्डाै –

नेपालमा खेर गइरहेको बिजुली बंगलादेशले खरिद गर्ने भएको छ । यसैगरी नेपालका निजी क्षेत्रसँग दीर्घकालीन विद्युत खरिद सम्झौता पीपीए गर्न समेत बंगलादेशले गृहकार्य अघि बढाउने तयारी गरेको छ ।

नेपालमा बजार व्यवस्थापन हुन नसक्दा गएको वर्षायाममा ५ सय मेगावाट विद्युत खेर गएको थियो। यसबाट ५ अर्ब रूपैयाँ नोक्सान भएको छ। पर्याप्त प्रसारण लाइन र आन्तरिक एवं बाह्य बजारको अभावका कारण नेपालमा उत्पादित विद्युत खेर गइरहेको हो।  बंगलादेश भ्रमणमा रहेको नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँगको भेटमा बंगलादेशका विद्युत, ऊर्जा तथा खनिज स्रोत राज्यमन्त्री नसरुल हमिदले नेपालमा उत्पादन हुने विद्युत आउँदो वर्षबाटै खरिद गर्ने बताउनुभयो ।

‘नेपालमा उत्पादन भएको विद्युत खपत नभएर खेर गइरहेको अवस्था छ उहाँले भन्नुभयो,त्यो विद्युत हामी खरिद गर्न सक्छौँ।’ उहाँले नेपालबाट विद्युत आयातका लागि प्रसारण लानइको पूर्वाधार सुदृढ गर्ने र डेडिकेटेड लाइनको समेत निर्माण थालनी गर्ने बताउनुभयो ।

राज्यमन्त्री नसरुलले सन् २०२६ सम्ममा नेपालमा उत्पादन भएर खेर जाने ३५ सय मेगावाट समेत बिजुली खरिद गर्ने बताउनुभयो । भारतले मार्च २०२१ मा अन्तरदेशीय ऊर्जा व्यापार कार्यविधि जारी गरेपछि त्रिदेशीय विद्युत व्यापारको ढोका खुलेको छ । नेपालको बिजुलीको संभाव्य बजार भारत भए पनि बंगलादेशको प्रतिबद्धतासँगै निजी क्षेत्र अन्तरदेशीय विद्युत व्यापारमा आशावादी भएको छ ।

याे पनि हेर्नुस्
Loading...