बडीकेदार २९ मंसिर
अदुवाको मुल्य नपाउँदा किसानहरु चिन्तीत भएका छन ।
डोटीको बडीकेदार,जोरायल ,बोगटान लगायतका गाउँपालीकामा उत्पादन हुने अदुवा यतिबेला बरीबाट निकाल्ने बेला भएको छ ।तर किसानहरुलाई बजारमा आफुले मिहिनेत गरेको जस्तोबजारमा मुल्य नहुदा चिन्तीत भएका छन।
अदुवा उत्पादनमा डोटीको दक्षिण भेग अग्रणी स्थान मा मानिन्छ । ग्रामीण भेगका धेरै कृषकको गुजारा चलाउने उत्पादन अदुवा नै हो । वर्षेनी जिल्लामा ठूलो परिमाणमा अदुवा उत्पादन त हुन्छ तर, बेच्न बजार छैन ।
बिक्रीका लागि अदुवा उत्पादक कृषक अझै पनि भारतमै निर्भर रहनुपर्ने अवस्था छ । जिल्लामा अदुवा प्रशोधन केन्द्र छैन । यसले गर्दा पनि अदुवा उत्पादन हुने बेला भएपछि वर्षेनी कृषकलाई भारतीय बजार नै पर्खनुपर्ने अवस्था छ ।
पछिल्लो पाँच वर्षयता भारतले नगदे बालीको रुपमा रहेको अदुवा खरिदमा आलटाल गर्दै आएका कारण डोटीको बडीकेदार गाउँपालिकामा अदुवा व्यवसायी र कृषक मारमा छन् । गाउँका कृषकको आयआर्जनको मुख्य स्रोत नै अदुवा हो ।
बडीकेदार गाउँपालिका–५ लानाका अगुवा कृषक टिका सिँ धामीले वर्षेनी ४०० कुन्टलसम्म अदुवा उत्पादन गर्छन्। अदुवाबाट पहिले उनको घरखर्च राम्रैसँग धानिएको थियो तर, तीन वर्ष यता उत्पादित अदुवा बिक्री नभएर उनी चिन्तित छन्।
“गतवर्ष अदुवाको बजार थिएन, बारीमै कुहाएर राख्नुपयो, अहिले फेरि थोरै मूल्य बढेको छ, त्यो पनि बिक्री गर्न भारतकै भर पर्दा निकै झण्झट भएको छ,” उनले भने।
अदुवा बिक्री गरेर परिवार पाल्दै आएका यहाँका कृषकहरु तीन वर्ष यता बजार नपाएर छटपटिमा छन् । व्यापारीले कृषकबाट निकै सस्तो मूल्यमा खरिद गर्न खोज्ने र उपभोक्तालाई चर्को मूल्यमा बिक्री गर्ने प्रवृत्तिले अदुवाको लगानी र मेहनतअनुसारको भाउ कृषकले नपाएका हुन् ।
जिल्लामा एक हजार हेक्टर क्षेत्रफलमा व्यावसायिक रुपमा अदुवा खेती गर्ने गरिएको छ । भारतीय बजारलाई लक्ष्य गरी यहाँका कृषकले अदुवा उत्पादन गर्दैआएका छन् । बडीकेदार गाउँपालिका मा २०० देखि २५०जति कृषक अदुवा व्यवसायमा आबद्ध रहेको बताइन्छ ।
यहाँ वर्षेनी १० हजारदेखि १२ हजार मेट्रिक टनसम्म अदुवा उत्पादन हुने गर्छ ।
अदुवाको मूल्य लागत अनुसार अत्यन्तै न्यून छ । त्यो पनि भारतले खरिद गर्न आलटाल गर्दा कृषकलाई लागत नउठ्ने गरी नै बिक्री गर्नुपर्ने बाध्यता छ । कतिपयले त अदुवाको मूल्य सुनेपछि बारीमै कुहाएर पठाउँछन् । अहिले बजारमा प्रतिकिलो अदुवाको मूल्य ३५देखि ५५ रुपैयाँ छ ।
नेपाल सरकारले अदुवाको न्यूनतम मूल्य तोक्न नसक्दा पनि अदुवा बिक्रीमा समस्या देखापरेको व्यवसायीहरु बताउँछन् । मूल्यमा वर्षेनी हुने उतारचढावले कृषकलाई ठूलो नोक्सानीमा पारेको छ । भारतले विभिन्न बहाना बनाएर अदुवा खरिदमा बेला बेलामा आनाकानी गर्ने गरिआएको छ ।
सरकारले एक गाउँ एक उत्पादन कार्यक्रम जिल्लाको मुख्य नगदे बालीका रुपमा स्थापित अदुवा खेतीेको प्रवद्र्धन गर्दैआएको छ ।
जिल्लामा उत्पादन भएका अदुवालाई जिल्लामै प्रशोधन गरी खपतका लागि स्थानिय सरकार र प्रदेश सरकारले पहल गरेमा साथै केन्द्र व्यवस्थित रुपमा सञ्चालन भइदिए वर्षेनी बारीमै अदुवा कुहाउनुपर्ने समस्याबाट कृषक मुक्त हुन्थे ।