Badikedar Khabar

कलाकार भानुभक्त जोशीमाथि आक्रमण

धनगढीः  सुदूरपश्चिमका देउडा गायक तथा हास्यकलाकार भानुभक्त जोशीले आफूमाथि भौतिक आक्रमण भएको बताएका छन्। जोशीले सामाजिक सञ्जाल (फेसबुक) मार्फत आफूमाथि ज्यान मार्ने उद्देश्यले भौतिक आक्रमण भएको जानकारी दिएका हुन्।

उनले शनिबार राति आफ्नो फेसबुकमा घाइते अवस्थाको फोटो सार्वजनिक गरेर आफूमाथि भौतिक आक्रमण भएर घाइते भएको जनाएका थिए। उनले फेसबुकमा लेखेका छन्, ‘दार्चुलाको शैल्यशिखर नगरपालिकाका कांग्रेस सभापतिका छोरा रुपेश साउदले मलाई हत्या गर्ने उद्देश्यले बन्द कोठामा लगेर मार्न खोजेको तर म भागेर  बाच्न सफल भए। महाकाली अस्पतालबाट रेफर भएर धनगढी जाँदै छु। भगवान संग प्राथना गरिदिनु वा गर्दैछु।’ रुपेश साउद र उनीसँगैका अर्का एक जनाले मार्ने उद्देश्यले कोठामा थुनेर आक्रमण गरेको उनको भनाइ छ।
उनको आफ्नो शरिर र मुखमा चोट लागेको बताएका छन्। जोशी धनगढीस्थित निसर्ग अस्पतालमा उपचाररत छन्। उनलाई हिजो राति नै महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले धनगढी रेफर गरेको थियो। धनगढीको माया मेट्रो अस्पताल पुगेका जोशीलाइ उपचार सम्भव नभएको बताएपछि उनी निसर्ग अस्पताल पुगेका हुन्।
अस्पतालको बेडमै रहेका जोशीले कञ्चनपुरको वडा प्रहरी कार्यालयले आफूमाथि आक्रमण गर्ने दुई जनालाइ नियन्त्रणमा लिएको तर केहीबेरमै छाडिदिएको दिनेशखबरलाइ बताए। उनले भने, ‘उनीहरु दुइजना थिए। मेरो कुनै विवाद र दुस्मनी थिएन। म त भिडिओ निर्माणको काममा थिए। मलाइ तिनीहरुले भेटौं भनेर दिउँसैदेखि फोन गरिरहेका थिए। म भेट्न गएपछि निहुँ खोजेर मलाइ केही भन्न नमिल्ने कुराहरु सोधे। उनीहरुले हाम्रो लागि जुगाड गर्नुपर्यो भनेर भने। तर, मैले हुदैन भन्दै अस्वीकार गरेपछि मलाइ टेबुलमै आक्रमण गरियो।’ आफूलाइ केटी मिलाइदिन भनेको तर आफू त्यस्तो मान्छे नभएको भन्दै उनीहरुले भनेको नमानेपछि निर्घात कुटपिट भएको उनको दाबी छ।
यता, कञ्चनपुर प्रहरीले भने घटनाबारे आधिकारिक जानकारी तथा उजुरी नआएको जनाएको छ। गायक तथा जोशी यसअघि पनि विवादमा तानिएका थिए। देउडा गित गाउने र डोटेली भाषाको कमेडी सिरियलहरु मार्फत चर्चामा आएका उनी एक युवतीसँगको आपत्तिजनक भिडियोका कारण विवादित बनेका थिए।
जोशीले अब आफू कारबाही मागका लागि कानुनी रुपमै अगाडी बढ्ने र मुद्दा दर्ताको तयारीमा रहेको बताएका छन्।

जोशीको फेसबुक स्टाटस 

याे पनि हेर्नुस्
Loading...