कैलाली – कैलालीको धनगढीका अटोरिक्सा चालकहरु आन्दोलित भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले अटोरिक्सामा जोरबिजोर प्रणाली लगाएको विरोधमा चालक आन्दोलित भएका हुन् ।
जोरबिजोर प्रणाली खारेजीको माग राख्दै रिक्सा चालकहरुले आइतबार धनगढी उपमहानगरपालिकाको कार्यालय घेराउ गरेका छन् । जोरबिजोर प्रणालीका कारण मजदुर मर्कामा पर्ने ठेला व्यवसायी तथा श्रमिक संघका जिल्ला अध्यक्ष लालबहादुर कामीले बताए ।
रिक्सा चालकलाई लाईसेन्स सिस्टमको व्यवस्था गरी व्यवस्थित रुपमा संचालन गर्नुको साटो जोरबिजोर लगाएर मजदुरको पेटमाथि लात हानिएको उनको भनाइ छ ।
यो व्यवस्था खारेज नहुँदासम्म अनिश्चितकालीन आन्दोलनका कार्यक्रम घोषणा गर्ने उनले जानकारी दिए । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले पुस १ गतेदेखि अटोरिक्साका लागि जोरबिजोर प्रणाली लागू गरेको हो ।
नगर क्षेत्रमा भिडभाड बढेको र दुर्घटनाको जोखिम भएको भन्दै उपमहानगरले जोरबिजोर प्रणाली लागू गरेको भए पनि मजदुरहरुले आफूलाई मर्कापर्ने भन्दै विरोध जनाएका छन् ।