Badikedar Khabar

यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको बिदाइ, आजै युएई प्रस्थान गर्ने

काठमाडौं,५ पुस, । नेपाल क्रिकेट संघ (क्यान)ले यही डिसम्बर २३ देखि युएईमा हुने एसीसी यू-१९ पुरुष एसिया कप क्रिकेट खेल्न जाने नेपाली यू १९ टोलीलाई सोमबार बिदाइ गरेको छ ।

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले बिदाइ गर्ने कार्यक्रम रहेपनि अन्तिम समयमा अनुउपस्थित हुँदा कार्यक्रम करीव सवा १ घण्टा ढिला सुरु भएको थियो। तर क्यान अध्यक्ष चतु बहादुरले कार्यक्रम समापनको भाषण गरे लगत्तै मन्त्री गहतराज उपस्थित भएका थिए ।

कार्यक्रममा उपस्थित भएपछि मन्त्री गहतराजले अर्थ मन्त्रालयमा मिटिङ रहेकोले ढिलाइ भएकोप्रति माफी माग्‍दै क्रिकेट टिमलाई शुभकामना दिए। ‘नेपालमा क्रिकेटको भविष्य राम्रो छ । यसपटक पनि दुबईमा राम्रो खेल्नुहुन्छ भन्ने आशा छ।’ मन्त्रीले भने । त्यसपछि मन्त्री गहतराजले खेलाडीहरुलाई पुन: खादा लगाएर बिदाइ गरे। देव खनालको कप्तानीमा रहेको नेपाली टोली सोमबारै युएई प्रस्थान गर्नेछ ।

 

क्यानले आयोजना गरेको यू१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका आधारमा टिम छनोट गरिएको हो । टेष्ट राष्ट्रहरु समेत सहभागी हुने भएकोले यस प्रतियोगिता नेपाली क्रिकेट टोलीका लागि राम्रो अवसर हुने क्यानको विश्वास छ।

क्यानका अध्यक्ष चतुर बहादुर चन्दले यू१९ नेपाली टिम गौरव बोकेको उल्लेख गर्दै क्यान निलम्बन फुकुवा भएर आएपछि यू१९ टिमको यो पहिलो टुर भएको बताए । यस्तै क्यानका कोषाध्यक्ष रोशन सिंहले नेपाली यू१९ टिम ईतिहास बोकेको टिम रहेको भन्दै यसपटक पनि उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे।

यस्तै क्यानका जनरल म्यानेजर रौनक बहादुर मल्लले यू१९ एसिया कपका लागि सेलेक्सन गेम गर्ने नेपाल नै एक मात्र टिम भएको समेत बताए। नेपाली टिमका कप्तान बसन्त शाही ठकुरीले तयारीका लागि थोरै समय भएपनि पुलिस र एपीएफसँग दुई मैत्रीपूर्ण खेलले पनि तयारीमन सहयोग पुगेको बताए । उनले लामो समयपछि यू१९ को राष्ट्रिय प्रतियोगिता हुनु राम्रो भएको बताए ।

प्रशिक्षक ठकुरीले टेष्ट राष्ट्रलाई आश्चर्यमा पार्दै नकआउट चरणमा पुग्ने लक्ष्य रहेको बताए।यस्तै पहिलो पटक कप्तानी सम्हालेका देव खनालले पनि राम्रो प्रदर्शन गर्ने बताए ।

समूह बी मा रहेको नेपालले डिसेम्बर २३मा टेष्ट राष्ट्र बंगलादेशसँग पहिलो खेल खेल्नेछ । यस समूहमा नेपाल र बंगलादेशसंगै श्रीलंका र कुवेत छन् । नेपालले श्रीलंकासंग डिसेम्बर २६ मा र कुवेतसंग र डिसेम्बर २८ मा खेल्नेछ।

यस्तै समूह ए मा भारत, पाकिस्तान, अफगानिस्तान, युएई छन् । दुव‌ै समूहको शीर्ष दुई टोली सेमिफाईनलमा प्रवेश गर्नेछन्

नेपाली टिम :
देव खनाल (कप्तान), शेर मल्ल (उपकप्तान), दिपेश कँडेल, विवेक यादव, गुलशन झा, विवेक राना मगर, सन्तोष कार्की, आदिल अन्सारी, तिलक राज भण्डारी, अर्जुन कुमाल, वासिर अहमद, दुर्गेश गुप्ता, प्रकाश जैसी, अर्जुन साउद, राहुल भण्डारी ।

याे पनि हेर्नुस्
Loading...