Badikedar Khabar

पीएम कप राष्ट्रिय क्रिकेटः सुदूरपश्चिम र एपीएफ विजयी

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्र्तगत सोमबार दुई खेल सम्पन्न भएका छन् । जसमा सुदूरपश्चिम प्रदेश र एपीएफ क्लब विजयी भएका छन् ।

सुदूरपश्चिमले गण्डकीमाथि ९ विकेटको जित दर्ता गर्यो । गण्डकीले दिएको ३२ रनको झिनो लक्ष्य सुदूरपश्चिमले २.२ ओभरमा १ विकेट गुमाउदै भेट्टायो । जसमा कविता जोशीले सर्वाधिक ८ रन जोडिन् । १९ रन अतिरिक्त खर्चिएको गण्डकीका लागि मनिषा उपाध्यायले १ विकेट हात पारिन् ।

त्यसअघि फाप्ला क्रिकेट मैदानमा पहिला ब्याटिंग गरेको गण्डकीले १८ ओभरमा ३१ रनमा समेटियो । उसका कुनै पनि ब्याट्सओम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । गण्डकीलाई सस्तैमा समेट्न सुदूरपश्चिमका कविता जोशी र दीपा जोराले २÷२ विकेट झारिन् । सुदूरपश्चिमकी कविता जोशी ओम्यान अफ द म्याच भइन् ।

यस्तै अर्को खेलमा एपीएफ क्लबले प्रदेश २ लाई ४८ रनले पाखा लगाएको छ । एपीएफले दिएको ९९ रनको लक्ष्य पन्छाएको प्रदेश २ ले मात्र ५० रन मात्रै बनाउन सक्यो । जसमा मेलिना राइमाझीले सर्वाधिक २० रन जोडिन् । प्रदेश २ का अन्य ब्याट्सओम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । एपीएफका सुस्मा श्रेष्ठले २ विकेट हात पारिन् ।

यसअघि पहिला ब्याटिंग गरेको एपीएफले निर्धारित १५ ओभरमा ८ विकेट गुमाउदै ९८ रन जोडेको थियो । उसका लागि ज्योती पाण्डेले सर्वाधिक २४ रन हिर्काइन् । प्रदेश २ का लागि बिमला मगरले ३ विकेट झारिन् । एपीएफकी सुस्मा श्रेष्ठ ओम्यान अफ द म्याच चुनिइन् ।

नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेटको सहआयोजनामा पुस ३ गतेदेखि सञ्चालन भएको प्रतियोगिता पुस ११ गते सम्पन्न हुनेछ । ७ प्रदेश र एक विभागीय गरी ८ टिम सहभागी प्रतियोगितामा प्रथम हुने टिमले पाँच लाख, दोस्रो हुनेले ३ लाख, ओम्यान अफ द सिरिज हुनेले २५ हजार, वेस्ट बलरले १५ हजार तथा वेस्ट व्याट्सओम्यानले १५ हजार, ओम्यान अफ द म्याचले २ हजार पुरस्कार प्राप्त गर्ने छन् ।

याे पनि हेर्नुस्
Loading...