Badikedar Khabar

कञ्चनपुरमा जलवायु परिवर्तनबारे १५ बुँदे घोषणापत्र जारी

महेन्द्रनगर – जलवायु परिवर्तन, विपद् जोखिम तथा वातावरणीय प्रभावलाई न्यूनीकरण गर्दै दिगो विकासका लागि साझा कञ्चनपुर घोषणापत्र जारी गरिएको हो। महेन्द्रनगरमा सम्पन्न सुरक्षित र दिगो विकासका लागि उत्थानशील पालिका मञ्चको अवधारणसहित यहाँ आयोजित सम्मेलनले जारी गरेको घोषणापत्रमा नौवटै स्थानीय तहका प्रमुख र उपप्रमुखले हस्ताक्षर गरेका छन्।

घोषणापत्रमा जलवायु अनुकूलनसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीति, कार्यक्रमलाई स्थानीयकरण गर्ने, जलवायु विपद् कोष स्थापना गर्ने, भूउपयोग नीतिको कार्यान्वयन, प्रविधिमैत्री बहुप्रकोप सूचना प्रणालीको स्थापना र समुदायको पहुँच विस्तार गर्ने लक्ष्य लिइएको भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले जानकारी दिए।

भीमदत्त नगरपालिकाले आयोजना गरेको जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनबारे पहिलो सम्मेलन सम्पन्न भएको हो। सम्मेलनमा जलवायु अनुकूलनसँगै र उत्थानशील शहर तथा दिगो विकासबारे छलफलसहित भावि रणनीति तय गरेको छ।

नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ र डिसिएको प्राविधिक सहयोगमा यहाँ हरेक वर्ष सम्मेलन आयोजना हुने बताइएको छ। जलवायु परिवर्तन र विपद् जोखिम व्यवस्थान, उत्थानशील शहर र दिगो विकासबारे विस्तृत छलफलसहित भावि योजनातर्जुमा लागि सम्मेलनको आयोजना गरिएको भीमदत्तका नगरप्रमुख विष्टले जानकारी दिए।

उनले भीमदत्तले दिगो विकासका लागि २५ वर्षे गुरुयोजना निर्माण, आधुनिक शहरको विकासका लागि शहरी योजना आयोग गठनसँगै नगरविकास समितिले काम गरिरहेको बताए। घोषणापत्रमा जलवायु अनुकूलनसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीति, कार्यक्रमलाई स्थानीकरण गर्ने, जलवायु विपद् कोष स्थापना गर्ने, भूउपयोग नीतिको कार्यान्वयन, प्रविधिमैत्री बहुप्रकोप सूचना प्रणालीको स्थापना र समुदायको पहुँच विस्तार गर्ने लक्ष्य लिइएको छ।

त्यस्तै जोखिम नियन्त्रणका लागि स्रोतसाधनको पहिचान र व्यवस्थापन, आवश्यक जनशक्ति उत्पादनसँगै खोज अनुसन्धानको विकास, एकीकृत योजना निर्माण, हरित नगरको अभियान अघि बढाउने, प्रत्येक वर्ष सुरक्षित र दिगो विकासका लागि उत्थानशील पालिका मञ्च कञ्चनपुर सम्मेलन आयोजना गर्ने विषय घोषणापत्रमा समेटिएका छन्।

सम्मेलनमा पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवन थापाले अगामी वर्ष पुनर्वास नगरपालिकाले उक्त सम्मेलन आयोजना गर्ने बताउनुभयो । उहाँले दिगो विकास र समृद्धि सामूहिक पहलमा सम्भव हुने बताए।

जलवायु परिर्वतनको असर बढ्दै

त्यसैगरी जलवायु विज्ञ राजन थापाले कैलाली र कञ्चनपुर बाढीको उच्च जोखिममा रहेको बताएका छन्। “पहाडी जिल्लामा हुने जथाभावी विकासले पनि तराईका जिल्ला बाढीको उच्च जोखिममा छन्”, उनले भने, “पछिल्लो समय निरन्तर जलवायु परिवर्तन भइरहेको छ।” केही वर्षयता तापक्रम बढिरहेको उल्लेख गर्दै उनले सुदूरपश्चिममा पानी पर्ने मात्रा बढेको जानकारी दिए।

त्यस्तै डा वसन्त अधिकारीले अव्यस्थित शहरीकरणले जलवायु परिर्वतनमा असर परिरहेको जनाउँदै दिगो विकासमा आधारित पूर्वाधार निर्माणलगायत काम गर्नुपर्ने बताए। उनले शहरीकरण वर्षेनी बढ्दै गएको आँल्याउँदै विकासलाई वातारणमैत्री बनाउनसके जलवायु अनुकूलन र विपद् जोखिम व्यवस्थापनमा सहज हुनेमा जोड दिए। रासस

याे पनि हेर्नुस्
Loading...