धनगढी,६ पुष
घाँटी छिनालेर हत्या गरिएका कैलालीका अर्जुन दासका हत्यारालाई कानूनी दायरामा ल्याउनुपर्ने भन्दै प्रदर्शन भएको छ । हत्याको विरोधमा टीकापुरस्थित ईलाका प्रहरी कार्यालय अगाडि स्थानीयले मंगलवार प्रदर्शन गरेका हुन् ।

‘हत्या हिंसा बन्द गर, हत्यारालाई फाँसी दे’ लगायत नाराबाजीसहित स्थानीयले प्रदर्शन गरेका छन् । जानकी गाउँपालिका–९ का २५ वर्षीय दास पुस २ गते साँझ घरबाट निस्केका थिए । राति घर नफर्केका दासको शव पुस ३ गते दिउँसो स्थानीय घाँस काट्ने महिलाले अमरावती सामुदायिक वनमा देखेका थिए ।
प्रहरीका अनुसार सामुदायिक वनको करीब १ किलोमिटरभित्र दासको विभत्स र क्रुर ढंगले हत्या गरिएको छ । उनलाई रुखमा बाँधेर नग्न बनाइ घाँटी छिनालेर हत्या गरिएको छ । प्रहरीले उनको शव पोस्टमार्टमका लागि सोमवार नै टीकापुर अस्पतालमा राखेको छ । मृतकका आफन्तले शव बुझ्न मानेका छैनन् । यसैबीच प्रहरीले १ जनालाई पक्राउ परेको छ तर पक्राउ पर्ने व्यक्तिलाई हालसम्म सार्वजनिक गरिएको छैन ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक ९डीएसपी० वेदप्रकाश जोशीले हत्या प्रकरणबारे अनुसन्धान जारी रहेकाले पक्राउ पर्नेको अवस्था सार्वजनिक नगरेको बताए । हत्यामा २ जनाभन्दा बढी व्यक्ति संलग्न रहेको र पहिचान समेत भइसकेको डीएसपी जोशीले बताए ।
मृतक दासको हत्यापछि फोनमा भएको कुराकानीको अडियोको माध्यमबाट प्रहरीले अनुसन्धान गरिरहेको छ । अडियोमा ‘मनोज’ नाम गरेका व्यक्तिले अर्जुनको हत्या गरेर भारततर्फ जान लागेको बताएका छन् । मनोज नाम गरेका व्यक्तिले आफूले दासको हत्या गरेर रुपैडिया नाका हुँदै भारत गइरहेको बताएका छन् । ‘दाइ मनोज बोल्न लाछु,’ फोन कुराकानीमा भनेका छन्, ‘घाँटी छिनाले दाइ, हामी ब्याङ्लोर हिँडिसक्यौं । अहिले रुपैडिया नाका छु ।’
