
धनगढी : धनगढीमा ‘विद्युतीय कार’ बनाउने विद्यार्थीहरुलाई डोटेली चलचित्र ‘नन्दी’ का निर्माता तथा नायक विनोद बोहरा ‘बोग्टानी किङ’ले आर्थिक सहयोग गरेका छन् । विद्युतीय कार निर्माण गर्दाको उधारो तथा तिर्नुपर्ने रकम र केही ‘फण्ड’ जुटाएर पुनः अरु इलेक्ट्रिक सामग्री निर्माण गर्ने उनीहरुको चाहना बमोजिम बोग्टानी किङले सोमबार दिउँसो नगद ५ हजार रुपैयाँ सहयोग गरेका हुन् । धनगढीको एक्सिस विद्याश्रममा कक्षा १० मा अध्ययनरत चार जना विद्यार्थीहरूले ‘विद्युतीय कार’ निर्माण गरेको र उनीहरुलाई पुनः केही रकम आवश्यक परेको खबर थाहा पाएपछि आफ्नो मनमा सहयोग गर्ने सोच पलाएको उनले बताए । उनले भने,‘उनीहरुले विद्युतीय कार निर्माणका क्रममा भएको खर्च व्यवस्थापन गर्न असहज भएको र फेरि फण्ड जम्मा गरेर पुनः अन्य सामग्री निर्माण गर्ने भनेको थाहा पाएपछि सानो सहयोग गरेको हुँ ।’
