ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलवायु परिवर्तनको असर सामना गर्न कठिनाइ हुँदै गएको बताउनुभएको छ ।
निजामती कर्मचारी दिवसका सन्दर्भमा ललितपुर महानगरपालिका–२ स्थित इन्द्रायणी उद्यानमा आज वृक्षारोपण गरेपछि उहाँले औद्योगिक मुलुकको गतिविधिबाट हरितगृह ग्यास उत्सर्जन हुँदा जलवायु परिवर्तन भएको जनाउँदै नेपालजस्ता मुलुकमा जलवायु परिवर्तनको नराम्रो प्रभाव पारेको बताउनुभयो ।
मन्त्री भुसालले भन्नुभयो, “विकसित मुलुकका क्रियाकलापको परिणामले जलवायु परिवर्तनको असर सहनुपरेको छ, नखाएको विष लाग्ने अवस्था छ ।” औद्योगिक र आणविक विकासका कारण जलवायु परिवर्तन भई अप्रत्याशित विपद्को सामना गर्नुपरेको बताउँदै मन्त्री भुसालले भन्नुभयो, “देशका विभिन्न भागमा भूक्षयको मार खेप्नुपरेको छ, जसका कारण हाम्रो दैनिक जीवन प्रभावित भएको छ ।”