Badikedar Khabar

काँग्रेस कैलालीको जिल्ला अधिवेशन नजिकिएसंगै जिल्लामा चुनावी सरगर्मी बढ्यो

बौनिया ,नेपाली काङ्ग्रेस को जिल्ला अधिवेशनको चुनावी माहौल तातियो आगामी २७ गते हुने नेपाली काँग्रेस कैलालीको जिल्ला अधिवेशन नजिकिएसंगै जिल्लामा चुनावी सरगर्मी बढेको छ ।

जिल्ला पार्टी नेतृत्व लिनका लागि उम्मेदवारहरू थपिने क्रम जारी छ । सभापतिदेखि उपसभापति, सचिव, सहसचिव तथा सदस्य पदका लागि आकांक्षीहरूले पत्रकार सम्मेलनदेखि सामाजिक सञ्जालमार्फत आआफ्नो दाबी प्रस्तुत गरिरहेका छन् ।

आकांक्षीहरू अहिले वडादेखि पालिका र क्षेत्रीय स्तरका कार्यकर्ता भेटघाट, छलफलमा जुटेका छन् ।

काँग्रेस कैलालीको सभापतिका लागि अहिलेसम्म पाँच जना आकांक्षी देखिएका छन् । संस्थापन पक्षधर नै मानिएका हालका उपसभापति प्रकाशबहादुर बम, पूर्व उपसभापति नारायणदत्त भट्ट, भीम बडुवाल, गणेशबहादुर देउवा र खेम चौधरीले दाबी प्रस्तुत गरेका छन् ।

त्यस्तै, संस्थापन बाहेकको पक्षबाट पनि सभापतिदेखि सबै पदमा उम्मेदवारीका लागि छलफल तीब्र बनाएको देखिएको छ ।
कैलाली का“ग्रेस जिल्ला अधिवेशनमा २५ सय बढी मतदाता (क्षेत्रीय प्रतिनिधि) रहेका छन् । जिल्लामा संस्थापन पक्षको बहुमत रहेको छ । तर, संस्थापन पक्षबाटै पाँच जना उम्मेदवार कायमै रहे प्रतिस्पर्धा रोचक हुने देखिँदैछ ।

कैलालीमा निवर्तमान जिल्ला सभापति (हाल प्रदेश महामन्त्री) नरनारायण शाहको एउटा समुह रहेको छ भने नारायणदत्त भट्टको छुट्टै समुह रहेको छ । संस्थापन पक्ष निकट भए पनि गणेश देउवा र भीम बडुवालको आआफ्नो समुह रहेको छ । सभापतिका आकांक्षीद्वय प्रकाश बम र खेम चौधरी प्रदेश महामन्त्री शाह निकट मानिन्छन् ।

सभापतिका आकांक्षी सबैले जुनसुकै अवस्था आए पनि चुनाव लड्ने बताइरहे पनि संस्थापन पक्षको नेतृत्वको दबाव आएमा केही आकांक्षीहरू “ब्याक” हुनसक्ने आँकलन गरिँदैछ । आकांक्षी सबै जना संस्थापन नेतृत्वबाट आधिकारिक उम्मेदवारी पाउन पनि दौडधुप गरिरहेका छन् ।

संस्थापन बाहेकका पक्षका एक नेताले भने– प्रदेश अधिवेशनमा जस्तै जिल्लामा पनि अन्तिम अवस्थामा संस्थापन पक्षका सबैलाई मिलाएर एउटै प्यानल बनाउने बलियो सम्भावना छ । अहिले सबै जना केन्द्रको “लाइन” को प्रतिक्षामा देखिन्छन् । आफ्नो पक्षमा लाइन आएन भने अहिले देखिएका आकांक्षीहरूले के गर्छन् ? प्रतिक्षा गर्नुपर्छ ।

कैलालीको जिल्ला नेतृत्वमा १२ औं महाधिवेशनदेखि नै संस्थापन पक्षको नेतृत्व रहेको छ । यद्दपि, १३ औं महाधिवेशनदेखि संस्थापन पक्षभित्रै गुटउपगुट बन्ने र भत्किने क्रम जारी छ । १४ औ महाधिवेशनसम्म आइपुग्दा संस्थापन पक्षका दुई स्पष्ट धार देखिएका छन् ।

संस्थापन पक्षबाटै पाँच जनाले आआफ्नो प्यानलसहित चुनावमा जाने तयारी गरिरहँदा संस्थापन बाहेकको पक्षले चाही के रणनीति बनाइरहेको छ ? संस्थापन बाहेकका पक्षका नेता तथा जिल्ला सचिव पूर्ण कुँवरले भने– आगामी दिनका चुनौतिहरूको सामना गर्ने बलियो पार्टी बनाउन सबै पक्षलाई समेटेर सबैको अस्तित्वको राख्नु पर्ने हुन्छ ।काङ्ग्रेस भित्र का युवा को माग युवा नेता भिम बडुवाल जिल्ला सभापति उम्मेदवार बनाउनु दवाव रहेको छ। जिल्ला अधिवेशनमा १३ वटै स्थानीय तहबाट करिव २५ सय प्रतिनिधिहरु सहभागी हुने छन ।

याे पनि हेर्नुस्
Loading...