Badikedar Khabar

कञ्चनपुर सशस्त्र प्रहरीका सइले पचास हजार घुस लिई तस्कर छाडेको खुलासा

कञ्चनपुर,२० पुस । कञ्चनपुरको पुनर्वासमा कार्यरत एक सशस्त्र प्रहरीका सइले पचास हजार घुस लिई तस्करलाई छाडेको खुलासा भएको छ । शनिवार साँझ भारतीय बजार बसहीबाट मोटरसाइकलमा ल्याउँदै गरेको हार्डवेयरको सामान सहित पक्राउ परेका भारतीय तस्कर मुन्ना गुप्तालाई बिओपी आपतालका प्रमुख सई वीरेन्द्र चन्दले पचास हजार घुस लिएर छोडेको खुलासा भएको हो ।

सई चन्दले घुस लिएपछि राती नै तस्कर र मोटरसाइकललाई छाडेको सशस्त्र प्रहरी भित्रकै एक श्रोतबाट खुल्न आएको छ ।चन्दले यति मात्रै हैन भारतीय बजार बसहीका कुखुरा तथा माछा व्यवसायीलाई पाँच लाख लगानी गरेर बिओपी आपतालको प्रमुखमा आएको र पहिलेको भन्दा राम्रो व्यवस्था हुनुपर्ने भन्दै भारतीय माछा व्यापारीसँग कुरा गरेको समेत खुलेको छ ।

शनिवार सामान नियन्त्रणमा लिएको विषयमा बुझ्न खोज्दा सई चन्दले फोन नै नउठाएर स्विच अफ गरेको बुझिएको छ । यस विषयमा सई चन्दसँग सम्पर्क हुन नसके पछि पुनः कार्यालयकै सञ्चार शाखामा बुझ्दा सई चन्द बाहिर ड्युटीमा रहेको बताए पनि उनी कार्यालय भित्रै रहेको बुझिएको छ ।

यस विषयमा पुनः आइतबार बुझ्न खोज्दा सई चन्दले मालसामान नियन्त्रण गरेको तर तस्कर फरार हुँदा नियन्त्रण नगरेको दावी गरे ।यसै विषयमा ३५ नम्बर गण शैलेश्वरीका सूचना अधिकारी डिएसपी प्रेमप्रसाद पाण्डेले मालसामान के र कति समातेको विषयमा आफूसँग अपडेट नभएको तर सञ्चारको जानकारी अनुसार नियन्त्रणमा लिएको मालसामान त्रिनगर भन्सार कार्यालय कैलाली पठाइएको बताए ।

याे पनि हेर्नुस्
Loading...