सुनसरी । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केही समयमा आउने तीनै तहका निर्वाचनको तयारीमा लाग्न आग्रह गर्नु भएको छ ।
धरान–२ मा नवनिर्मित नेपाली काँग्रेसको क्षेत्र नं १ को पार्टी कार्यालय मङ्गलवार उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले केही समयमै आउने तीनै तहका निर्वाचनको तयारीमा लाग्न निर्देशन दिनु भएको हो ।
महाधिवेशनको समयमा भएको प्रतिस्पर्धाको तुष नराखी पार्टी एकतामा जोड दिनुपर्ने र देशभरिका पार्टीका कार्यकर्ताहरू एक भएर हिँडेमा मात्र पार्टी एकताबद्ध हुने बताउनुभयो । सबैको सहयोग विना पार्टी एक हुन सक्दैन देशभरिका साथीहरू एक भएर हिँडे मात्र पार्टी पनि एक ढिक्का हुन्छ प्रधानमन्त्री देउवाले बताउनुभयो ।
सबैको सहयोगले पार्टी सभापति भएको खुलाउँदै देउवाले यो कार्यकाल आफ्नो अन्तिम भएकाले पार्टीलाई एक बनाउने दायित्व आफ्नो भएको पनि बताउनु भयो ।
नेपाली काँग्रेसको क्षेत्र नं १ को पार्टी कार्यालय उद्घाटन गरेसँगै फोहोरमैला प्रशोधन केन्द्रको पनि उद्घाटन गर्नुभयो साथै उहाँले बसपार्कको समेत अवलोकन गर्नु भएको छ ।
।