विमल विष्ट, डोटीको प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले सीमा क्षेत्र सहित दैवी प्रकोपमा सशस्त्र प्रहरीले उल्लेख्य भूमिका निर्वाह गर्दै आएको बताउनु भएको छ ।
सशस्त्र प्रहरी बलको २१ औँ स्थापना दिवसका अवसरमा डोटीको दिपायलमा रहेको सशस्त्र प्रहरीको ३६ नम्बर गणले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रजिअ विष्टले देश र नागरिकका लागि सशस्त्र प्रहरीले गरेको योगदान अतुलनीय रहेको बताउनुभयो ।
उता सशस्त्र प्रहरीको ३६ नम्बर गणका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक हर्कबहादुर विष्टले सशस्त्र प्रहरी देश र नागरिकका लागि अहोरात्र खटिँदै आएको र आवश्यक परेका बेला जुनसुकै समयमा पनि खटिने बताउनुभयो । उहाँले भन्नुभयो, “देश र नागरिकका हितका लागि हामी जस्तो सुकै परिस्थितिको सामना गर्न तयार छौँ, हाम्रो सेवा भनेको देश र जनताको रक्षा र सुरक्षा गर्नु हो ।”उक्त कार्यक्रममा गणमा उत्कृष्ट कार्य गर्ने दुई जना सशस्त्र प्रहरी जवानलाई नगद सहित प्रशंसा पत्रले सम्मान गरिएको थियो ।