९ माघ, काठमाडौं । सन् २०२१ मा पर्यटक आगमनमा ठूलो गिरावट आयो । खासगरि सन् २०२० को पहिलो दुई बीना अवरोध पर्यटक आगमन भएको थियो । तर, सन् २०२१ मा भने शुरुवाती महिनाबाटै कोरोना भाइरसको महामारीले आगमन प्रभावित बनाएको थियो ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको आंकडा अनुसार सन् २०२१ मा अघिल्लो वर्षको तुलनामा ३४.९ प्रतिशत पर्यटक कम आएका थिए । सन् २०२१ मा कुल १ लाख ४९ हजार ८ सय ३३ जना पर्यटक नेपाल आएका थिए ।
कुल पर्यटक आगमन
सन् २०१९ : ११ लाख ९७ हजार १ सय ९१
सन् २०२० : २ लाख ३० हजार ८५
सन् २०२१ : १ लाख ४९ हजार ८ सय ३३
अर्थ मन्त्रालयको तथ्यांक अनुसार सन् २०२१ को एक वर्षको अवधिमा नेपालले पर्यटन क्षेत्रबाट ७ अर्ब ८७ करोड रुपैयाँ आय गरेको छ । सन् २०२० मा भने पर्यटन आय मात्र २ अर्ब ३२ करोड रुपैयाँ भएको थियो । सो वर्ष भ्रमणको प्रयोजनमा भन्दा बढी अन्य आउनै पर्ने बाध्यात्मक अवस्थामा रहेका विदेशीले मात्र नेपाल भ्रमण गरेका थिए ।
तर, सन् २०२१ मा भने पर्वतारोहण र पदयात्राको प्रयोजनमा खर्चालु पर्यटक आएका थिए । यो वर्ष नेपालमा अमेरिकी र यूरोपेली पर्यटकको बाहुल्य बढी देखिएको छ । जसका कारण पर्यटकबाट हुने आम्दानी समेत बढेको हो ।
पर्यटन क्षेत्रबाट भएको आय
सन् २०२० : रु. २ अर्ब ३२ करोड
सन् २०२१ : रु. ७ अर्ब ८७ करोड
४३ प्रतिशत हिस्सा भारतीयको, दोस्रो स्थानमा अमेरिकी
नेपालमा हवाई जहाज चढेर आउने सबै भारतीय नागरिकलाई पर्यटक मानिन्छन् । अर्थातः कोरोना कालमा केही दिन नेपालमा रोकिएर तेस्रो मुलुक जान आएका भारतीय कामदार समेत यो सूचिमा समावेश छन् । जसले गर्दा पर्यटकको हिस्सामा भारतीय नागरिकको संख्या ४३ प्रतिशत देखिएको छ ।
सन् २०२१ मा कुल ६४ हजार ६ सय ७३ जना भारतीय पर्यटक नेपाल आएको तथ्यांक छ । यो वर्ष दोस्रो स्थानमा अमेरिकी नागरिक छन् । अमेरिकाबाट कुल २२ हजार ८ सय ५३ जना पर्यटक नेपाल आएका चन् । यो कुल पर्यटक आगमनको १५.१४ प्रतिशत हिस्सा हो । तेस्रो स्थानमा रहेको बेलायतबाट ८ हजार ६ सय ८० जना नेपाल आए ।
चीनबाट ६ हजार १ सय ९६ र बंगलादेशबाट ५ हजार ४४ जना पर्यटक नेपाल आएका छन् । पर्वतारोहण र पदयात्रामा जाने पर्यटकका कारण नेपालमा पर्यटकको बसाई अवधि समेत लामो देखिने गरेको छ ।
कुन मुलुकबाट कति पर्यटक ? (प्रमुख पाँच)
भारत : ६४६७३
अमेरिका :२२८५३
बेलायत :८६८०
चीन : ६१९६
बंगलादेश : ५०४४
कुन भेगबाट कति पर्यटक ?
तथ्यांक अनुसार दक्षिण एसियाली मुलुकमा भारत र बंगलादेशबाट आएको उच्च आगमन संख्याले समग्र पर्यटक आगमनमा यस भेगको हिस्सा बढी देखिएको छ । सन् २०२१ मा दक्षिण एसियाली मुलुकबाट ७१ हजार ६ सय १० जना पर्यटक नेपाल आए । यो कुल आगमनको ४७.४४ प्रतिशत हो । दक्षिण एसियाभन्दा बाहेकका एसियाली मुलुकबाट एक वर्षमा मात्र ९ हजार ८ सय २५ जना पर्यटक नेपाल आए । यो कुल संख्याको ६.५१ प्रतिशत मात्र हो ।
यूरोपबाट यस अवधिमा २५ हजार ३ सय ५ जना पर्यटक आएकोमा यो हिस्सा १६.७६ प्रतिशत देखिएको छ । ओसियाना मुलुकबाट २ हजार ५ सय ७१ जना नेपाल आए । यो कुल आगमनको १.७० प्रतिशत हो । अमेरिका र क्यानडाबाट २५ हजार २ सय ९१ जना नेपाल आए । यो कुल आगमनको १६.७५ प्रतिशत हो ।अनलाईल खबर