महेन्द्रनगर ९ माघ/ कोभिड १९ संक्रमण बढेपछि कञ्चनपुरको गड्डाचौकी नाकाबाट अत्यावश्यक काम बाहेक सीमा नाकामा आवतजावत बन्द गरेको छ । प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला कोभिड व्यवस्थापन समितिको आइतबार बसेको बैठकले अर्को व्यवस्था नभएसम्मका लागि नाकामा आवतजावत बन्द गने निर्णय गरेको हो ।
‘कोभिड १९ को संक्रमणका कारण मिति २०७८/१०/०९ गते राति १२ः०० बजे देखि अर्को व्यवस्था नभएसम्मका लागि अत्यावश्यक कार्य बाहेक सीमा नाकामा भारततर्फ हुने आवतजावत (साईकल मार्फत हुने क्यारिङ्ग समेत) नगर्ने नगराउने’ समितिको निर्णयमा भनिएको छ ।मितिले अति आवश्यक कामले जानु पर्ने भएमा सम्बन्धित कागजात र कोभिड १९ विरुद्ध खोप लगाएको कार्ड सुरक्षाकर्मीलाई अनिवार्य रुपमा देखाउनु पर्ने निर्णय गरेको छ । ती कागजात र खोप लगाएको कार्डको मोबाइलमा तस्बिर समेत देखाए पनि हुने निर्णयमा उल्लेख छ ।
समितिले कोभिड १९ संक्रमण रोकथाम र नियन्त्रणका लागि सबै पालिकामा जनचेतना मुलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । सरकारी निकाय, स्थानिय तह, गैर सरकारी निकाय, संघ सस्था, नेपाल पत्रकार महासंघ लगायतका सरोकारवाला निकायसित सहकार्य र समन्वयमा जन चेतना मुलक कार्यक्रम र मास्क अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ ।समितिले विवाह, बर्तबन्ध जस्ता सामाजिक कार्यमा २५ जनाको संख्या नबढाई गर्ने र नित्य धार्मिक पूजा प्रार्थना बाहेकका धार्मिक भेला तथा कार्यक्रमहरु हाललाई सञ्चालन नगर्ने निर्णय गरेको छ ।
एम्बुलेन्स सेवा प्रदायिक संस्थाहरुलाई आफुले संचालनमा ल्याईएका एम्बुलेन्सरुमा अनिवार्य रुपमा जि।पि।एस। राख्न लगाउने र कोभिड १९ को संक्रमण रोकथाम र न्यूनीकरणको लागि सरकारको निर्णय सबै सुरक्षा निकाय लगायत सबै सरोकारवाला निकाय र संघ संस्थासित समन्वयात्मक रुपमा परिचालन हुने समितिको निर्णय छ ।समितिका संयोजक प्रमुख जिल्ला अधिकारी राम प्रसाद पाण्डेको अध्यक्षतामा बैठक बसेको थियो । पश्चिमी सीमा नाका गड्डाचौकीका कारण कञ्चनपुर कोभिड १९ संक्रमणको उच्च जोखिममा छ ।