कोभिड महाव्याधि : बहसमा छुटेको र सरकार चुकेको महत्त्वपूर्ण सवाल
सबै नागरिकको समस्या एउटै विधिबाट हल हुँदैन । समस्या अनुसार समाधान दिन सक्नुपर्छ । अत्यधिक संकटमा फसेको न्यून वर्गका मानिस उच्च प्राथमिकतामा पर्नुपर्छ । कोभिडले उनीहरूको जीवनमा दीर्घकालीन समस्या पैदा गरिरहेको छ । यो वर्ग लामो समय यसबाट प्रभावित भइरहनेछ
डा. शरद वन्त ,
स्वास्थ्य क्षेत्रमा देखिएको अहिलेको अवस्था हाम्रो स्वास्थ्य प्रणालीको समग्र तस्वीर हो । हाम्रो स्वास्थ्य नीतिमा नै केही कमजोरी छन् । यसले विशेषतः समानता र सामाजिक न्यायको मूल मर्मलाई अझै पक्रन सकेको छैन ।डा. शरद वन्त
कोही पनि नागरिक गरीब भएकाले, दुर्गम भेगको भएकाले अथवा अरू कुनै कारणले स्वास्थ्य सेवामा पहुँच नपाएर अकालमा मृत्युवरण गर्नु नपरोस्, कुनै पनि नागरिक स्वास्थ्य सेवाबाट वञ्चित हुनु नपरोस् भन्ने समानता र सामाजिक न्यायको मर्म हो । हाम्रो प्रणालीले गरीब र किनारामा परेका नागरिक समूहका लागि आवश्यक सुरक्षा दिनसकेको छैन । कोरोना महाव्याधिमा देखिएका समस्या यसैको अभिव्यक्ति हो ।
कहाँ चुक्यो सरकार ?
प्राविधिक रूपले महाव्याधि एउटै हो तर यसको प्रभाव फरक–फरक छन् । बेग्लाबेग्लै तप्काका नागरिकले फरक पीडा भोग्नुपरेको छ । सबैभन्दा तल्लो तहका नागरिकले बढी पीडा भोग्नु परेको छ । हाम्रो नीतिमा यी महत्वपूर्ण कुरा कहीं न कहीं छुटेका छन् ।
कोभिड महाव्याधिको बारेमा हामीले धेरै बहस प्राविधिक विषयमा गरिरहेका छौं । यसको सामाजिक पाटो छायाँमा परिरहेको छ ।सरकारको ठूलो कमजोरी महाव्याधिमा नागरिकलाई परेको अन्य प्रभावको पहिचान र व्यवस्थापनमा देखिएको छ । धेरै नागरिक संक्रमित भएको वा नभएको पहिचान भएन । कतिको व्यवसाय ध्वस्त भयो । कतिका आम्दानीका स्रोतहरू सुके । कति नागरिकलाई उपचारको कारणले धेरै आर्थिक बोझ परेको छ ।
यी सबै सवालमा नागरिकको पीडा कम गर्न सरकारले प्रभावकारी कार्यक्रम ल्याउन सकेन । ल्याएका कार्यक्रम पनि कार्यान्वयन गर्न सकेन । कतिपय भोका नागरिकले सरकारका तर्फबाट एक छाक खाना पनि पाएनन् ।
वैश्विक सन्दर्भ हेर्दा, कतिपय देशले खाना बाँडेका, कतिले व्यवसायमा थेगभर स्वरुप क्षतिपूर्तिको व्यवस्था गरेका देखिन्छन् । कतिपय देशले गरिब नागरिकलाई भत्ता बाँडेका छन् । संसारमा नागरिकलाई बचाउन सरकारले गर्न सक्ने काम गरेका उदाहरण प्रशस्त छन् । यी विषयहरूमा हाम्रो सरकार नराम्ररी चुक्यो र नागरिकमा बहुआयामिक प्रभाव पर्यो ।
कोभिड–१९ को अर्को प्रभाव मानसिक समस्या पनि हो । हामीलाई मानसिक बोझ बढाउने धेरै कारण छन् । रोजगारी गुमेकाहरूलाई आर्थिक सँगै मानसिक बोझ पनि बढेको छ । लाखौं नेपाली विदेशमा रोजगारी गुमेर फर्केका छन् । यो आर्थिक मात्र नभएर मानसिक मुद्दा पनि हो । उनीहरू कति प्रताडित भएका होलान्, यी कुरा उनीहरूको मानसिक स्वास्थ्यमा अभिव्यक्त हुन्छ ।
बहसमा छुटेका महत्वपूर्ण मुद्दा
जैविक र प्राविधिक रूपमा हेर्दा कोभिड एउटै विषय हो । यसको प्रभाव भने सबैमा एउटै छैन । नागरिकको विभिन्न समूहमा यसको बेग्लाबेग्लै प्रभाव पर्छ । यसलाई ध्यान दिन एकदमै जरूरी छ । यसरी प्रभावित नागरिकलाई चार खेमामा बाँड्न सकिन्छ–
पहिलो, न्यून आय भएका नागरिकमा यसको संकटपूर्ण प्रभाव अर्थात् ‘क्याटेस्ट्रोफिक कन्सिक्वेन्स’ देखिन्छ । उनीहरू दुर्घटनाग्रस्त वा संकटपूर्ण अवस्थामा छन् । संसारका झण्डै २० करोड जनसंख्या कोभिडकै कारण गरीबीको रेखामुनि धकेलिएका छन् । नेपालमा यसबारे अध्ययन गर्न सकिएको छैन, तर यो तप्कामा सबभन्दा खराब प्रभाव परेको यसै अनुमान गर्न सकिन्छ ।
दोस्रो तप्कामा न्यून मध्यम वर्गका मानिस छन्, जसलाई पीडा त छ तर सहन सक्ने (कोपिङ एबिलिटी) अवस्था छ । अवस्था थप बिग्रियो भने यो तप्का पनि नाजुक हुन्छ ।
तेस्रो थरी नागरिक तप्कालाई कोभिडले खासै असर गरेको छैन । सानातिना उचारचढाव अवश्य छन्, तर त्यसले जीवनलाई अधिक प्रभाव पारेको छैन । यो समूहको आम्दानी खासै घटेको छैन र केही बचत पनि छ । यो उच्च मध्यम वर्ग हो । चौथो समूहले भने यो महाव्याधिबाट लाभ उठाइरहेको छ । यहीबीच अर्बपति, खर्बपति हुनेहरू पनि छन् ।
त्यसैले, सबै नागरिकको समस्या एउटै विधिबाट हल हुँदैन । समस्या अनुसार समाधान दिन सक्नुपर्छ । अत्यधिक संकटमा फसेको न्यून वर्गका मानिस उच्च प्राथमिकतामा पर्नुपर्छ । कोभिडले उनीहरूको जीवनमा दीर्घकालीन समस्या पैदा गरिरहेको छ । यो वर्ग लामो समय यसबाट प्रभावित भइरहने छन् ।
स्वास्थ्य नीतिको अन्तरकुन्तर
हाम्रो स्वास्थ्य नीतिमा धेरै सकारात्मक पक्ष पनि छन् । विभिन्न संरचनाको कुरा गरिएको छ । आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिने परिकल्पना छ । राज्यले गरेको धेरै प्रतिबद्धता नीतिमा अभिव्यक्त भएका पनि छन् । नीतिमा भएका केही कमजोरीलाई सुधार्नुपर्ने ठाउँ बाँकी छ । तर, नीति मार्फत नागरिकसामु जाहेर गरिएको प्रतिबद्धता कार्यान्वयन हुन नसक्नु मूल चुनौती रहेको छ ।
नीतिमा क्रमशः सुधार पनि हुँदै आएको छ, तर हाम्रो लागि चिन्ताको विषय भनेको सरकारी प्रतिबद्धता कार्यान्वयनको पक्ष हो, जुन अत्यधिक कमजोर देखिएको छ । मुख्य कुरा हामी भित्रैदेखि प्रतिबद्ध छौं कि केवल लोकरिझ्याइँका लागि कागजमा लेखेको मात्रै ?
दोस्रो, हाम्रो व्यवस्थापकीय अक्षमता र कमजोरी छन् भने तेस्रोमा लापरबाही, गैरजिम्मेवारपन र संयोजनकारी भूमिकाको अभाव छ । हामीले विभिन्न निकायबीच राम्रो समन्वय गर्न सकेका छैनौं । यी कारणले गर्दा नीतिमा भएका राम्रा पक्षहरूको पनि कार्यान्वयन हुनसकेका छैनन् ।
कोभिड महाव्याधिको सन्दर्भमा पनि सरकारले निःशुल्क उपचार नीति लिएको छ, तर कार्यान्वयन भइरहेको छैन । नीति जे–जस्तो भए पनि व्यवहारमा हामीले अस्पताल चहार्दाचहार्दै बिरामीको मृत्यु भएको देख्यौं । क्वारेन्टाइनमा मृत्यु भएको र कतिपयले आत्महत्या गरेको पनि खबर सुन्यौं । हामीसँग क्वारेन्टाइन कसरी व्यवस्थित गर्ने भन्ने लामो नीतिगत फेहरिस्त छ । तर नीति निर्देशिका कार्यान्वयन नहुँदा यस्ता घटना भएका हुन् ।
सिक्न नसकेको पाठ
हामी संक्रमण विस्तार नियन्त्रण, संक्रमितको व्यवस्थापन र यसका अन्य प्रभाव व्यवस्थापन गर्ने तीनै पक्षमा पटक–पटक कमजोर सावित भयौं । संक्रमण नियन्त्रणमा त कमजोर भयौं नै संक्रमित आइसोलेसनदेखि अस्पताल व्यवस्थापनसम्म पनि नराम्ररी चुक्यौं ।
मैले दोस्रो लहरमा पनि उपचारको लागि बेड नपाएर बिरामी मर्नु भनेको राज्यले गरेको अपराध हो भनेको थिएँ । हामीले यति धेरै पाठ सिकिसक्यौं, यी पीडापूर्ण सिकाइमा लापरबाही गर्दा पुरानै पीडाहरू दोहोरिए भने त्यसलाई कसरी व्याख्या गर्ने ? यो त जिम्मेवार निकायहरूको अपराध नै हुन्छ ।
आफ्नो क्षमताभन्दा ठूलो समस्या आएको, अनुमानै नगरेको समस्या भए अवस्था अर्कै हुन्थ्यो । तयारी गर्ने अवसर नपाएर थेग्न नसक्नु फरक कुरा हो । तर, अहिलेको स्थिति त्यस्तो होइन ।
हामीले तयारी गर्ने पर्याप्त अवसर पाएका हौं, प्रक्षेपण गरेका धेरै कुरा मिलेका छन् । केही गर्नै नसक्ने अवस्था पनि होइन । स्रोतसाधन छन् । त्यसलाई ठीक ढंगले परिचालन गर्ने चुनौती हो । यी सबै अवसर हुँदाहुँदै नागरिकले उपचार नपाएर मृत्युवरण गर्नुपर्ने अवस्था सिर्जना हुनु त अपराध नै हो ।
ध्यान दिनुपर्ने केही सवाल
चरण भनेको महाव्याधिको एउटा प्रक्रिया मात्रै हो । हामीले पहिलो, दोस्रो, तेस्रो भनिरहँदा विश्वका कतिपय देश पाँचौं चरणबाट गुज्रिइरहेका छन् । यो निरन्तर हुन्छ ।
हिजोको तुलनामा आज खोप उपलब्ध छ । पहिलो र दोस्रो चरणमा हामीसँग खोप थिएन, अहिले छ । विज्ञानको यो उपलब्धि हाम्रो लागि ठूलो सहारा बनेको छ । यद्यपि, खोपले मात्र संक्रमण रोक्न सकिंदैन भनेर वैज्ञानिकहरू बताइरहेका छन् ।
यो महाव्याधिबाट विश्वका सबै देश प्रभावित छन् । संसारका सबै सरकारले खेल्नुपर्ने भूमिका उही र उस्तै हुन् । विश्वभर नागरिक चलायमानताको कारण संक्रमण आयात हुनसक्ने ठाउँसम्म व्यवस्थापन गर्नुपर्छ । त्यसैले पहिलो काम सीमा व्यवस्थापन हो । यो असाध्यै महत्वपूर्ण छ ।
भारतसँग नेपालको तीनतिर खुला सिमाना छ । त्यताबाट संक्रमण आयात हुनसक्ने सम्भावना उच्च छ । संक्रमित नेपाली वा भारतीय जो भए पनि रोग त रोगै हो । त्यसो त, भारतीय नागरिकभन्दा नेपालीबाटै यो फैलने सम्भावना बढी छ । किनभने, व्याधिकालमा पारिबाट आउनेहरू नेपाली नै हुन्छन् । सीमा व्यवस्थापनको यो कुरा हामीले दोस्रो चरणबाटै सिक्नुपर्ने थियो ।
सीमा व्यवस्थापन भनेको बन्दाबन्दी होइन, सीमालाई सुरक्षित रूपमा चलायमान बनाउने हो । यो विल्कुल सम्भव छ । तर, यति काम गर्न नसक्दाको परिणाम हामीले दोस्रो चरणमा पनि भोग्यौं । तेस्रो चरणमा पनि भोग्दैछौं ।
अहिले नेपालभित्रै संक्रमणका स्रोतहरू असाध्यै चलायमान बनेका छन् । त्यसैले आफ्नै समुदायमा रहेको स्रोत नियन्त्रण अत्यावश्यक भएको छ । जनस्वास्थ्यको विधि अपनाउँदै सम्भावित स्रोतहरूलाई चाँडो पहिचान गरेर थप संक्रमण हुन नदिन स्रोतहरूको व्यवस्थापन गर्नुपर्छ । उनीहरूलाई अस्पताल नै भर्ना गर्नुपर्छ भन्ने छैन, घरमै पनि व्यवस्थापन हुनसक्छ ।
घरमा कोभिड संक्रमणको सुरक्षित व्यवस्थापन सम्भव नभए संस्थागत आइसोलेसनमा लैजानुपर्छ । यी कुराहरू हिजो जस्तै आज पनि उत्तिकै आवश्यक छन् ।
अस्पतालमै भर्ना गर्नुपर्ने संक्रमितहरूका लागि अर्को तयारी गर्नुपर्ने हुन्छ । उनीहरूको लागि सरकारले सेवा सर्वसुलभ बनाइदिनुपर्छ । कोही संक्रमित राज्यको सेवाबाट वञ्चित हुनुहुँदैन । सेवाबाट बञ्चित हुनुपरेकै कारण उनीहरूले अधिक पीडा भोग्नु नपरोस् । यो सबै व्यवस्थापन राज्य संरचनाले गर्नुपर्छ ।
राज्य संरचनाको कुरा गर्दा हामी अलि संकुचित भएर स्वास्थ्य निकायलाई मात्र सम्झन्छौं । स्वास्थ्य निकाय महत्वपूर्ण र केन्द्रीय निकाय हो, यसमा कुनै शंका छैन । यसले नेतृत्वदायी र संयोजनकारी भूमिका खेल्नुपर्छ । राज्यका अरू निकायको पनि उत्तिकै दायित्व हुन्छ । राज्यको एउटा महत्वपूर्ण अंग भएकोले नागरिक पनि यसमा जिम्मेवार हुनुपर्छ ।
सरकारका निकायहरू आ–आफ्नो ढंगबाट काम गरिरहेको दाबी गर्छन्, समन्वय भने हुन नसकेको समाचार आइरहेको हुन्छ । संघीय सरकार र प्रदेश सरकार, प्रदेश सरकार र स्थानीय सरकार बीचमा राम्रो संयोजन हुन नसकेको कुरा आइरहेको छ । यो सब लथालिंग हाम्रो सिंगो राज्य प्रणालीको अभिव्यक्ति बनिरहेको छ ।
बहसमा ‘हर्ड इम्युनिटी’
कतिपयले ‘हर्ड इम्युनिटी’को कुरा गर्छन् । यसबारे वैज्ञानिक अध्ययन भइरहेका छन्, सबै ढंगबाट स्वीकार्य तथ्य भने स्थापित भइसकेको छैन ।
समुदायमा बहुसंख्याले ‘इम्युनिटी’ प्राप्त गरेका छन्, इम्युनिटी प्राप्त नगरेकाहरू पनि सुरक्षित छन् भन्ने अवधारणा हो ‘हर्ड इम्युनिटी’ । बहुसंख्यक भन्नाले कति प्रतिशत ? भन्ने कुरा विभिन्न रोगमा पनि भर पर्छ । अरू संक्रामक रोगमा जस्तै कोभिडको सन्दर्भमा पनि हर्ड इम्युनिटीको अवधारणा सैद्धान्तिक रूपमा लागू हुन्छ ।
कति प्रतिशतले इम्युनिटी बनाइसकेपछि बाँकी नागरिक सुरक्षित हुन्छन् ? हर्ड इम्युनिटीको आयु कति लामो हुन्छ ? कोभिडको सन्दर्भमा एकपटक संक्रमित भएर निको भएपछि र खोप लिएको नागरिक कति समयसम्म सुरक्षित हुन्छ ? अझै निक्र्योल भइसकेको छैन ।
हर्ड इम्युनिटी सिद्धान्ततः सही कुरा हो । अरू संक्रामक रोगमा यसको सन्दर्भ लागू हुन्छ भने कोभिडमा पनि लागू हुन्छ । यति भएपछि हर्ड इम्युनिटी प्राप्त हुन्छ, यसैले हामी सबै सुरक्षित हुन्छौं भनेर दावी गर्न सकिने तथ्य भने अझै स्थापित भइसकेको छैन ।
अब हर्ड इम्युनमा जानुपर्ने मतमा म सहमत छैन । कुनै पनि समस्या सम्बोधन गर्ने आम रूपमा तीन उपाय हुन्छ, पहिलो–आत्मसमर्पण । समस्या आयो, अब केही गर्न सकिंदैन । यत्तिकै छोडिदिने र सबै नतिजा भोग्न तयार भएर बस्ने ।
दोस्रो–समस्याको अस्तित्वलाई अस्वीकार गर्ने । कतिपयले कोभिडलाई पनि यो केही होइन भनेर अस्वीकार गर्ने प्रयत्न गरेको देखियो । नागरिकको एउटा तप्काले यो मान्यता पछ्याउँछ । उनीहरूले यसलाई षड्यन्त्रको सिद्धान्तसँग जोडेर पनि हेर्छन् । यो समस्या सबैतिर छ । कतिपय मानिस खोप, लकडाउन र कुनै पनि निषेध विरुद्ध लागिरहेका छन् ।
तेस्रो– समस्यालाई चुनौतीको रुपमा स्वीकारेर मुकाबिलाको हर प्रयास गर्नु । एक जनस्वास्थ्यकर्मीको नाताले म तेस्रो दृष्टिकोणमा जानुपर्छ भन्ने मान्यता राख्छु । किनभने, कोभिड मात्र होइन, अरु भाइरस पनि रूपान्तरण हुन्छन् । जस्तो, टिबीको ब्याक्टेरिया पनि हुन्छ, कसैलाई औषधिले छुँदैछुँदैन । यो भनेको ब्याक्टेरिया म्युटेड भएर औषधि पचाइसकेको अवस्था हो । त्यस्तो ब्याक्टेरिया संक्रमित भएकालाई पनि औषधिले छुँदैन ।
टाइफाइडमा पनि यस्तै हुन्छ । यस्ता धेरै उदाहरण छन् । अझ ब्याक्टेरियाभन्दा भाइरस बढी रूपान्तरित हुन्छ । योक्रममा भाइरस कहिले दुर्बल र कहिलेकाहीं शक्तिशाली भइदिन्छ । हामीले डेल्टा र ओमिक्रोन सम्झिएको यिनीहरू तुलनात्मक रूपमा बढी शक्तिशाली भएर हो । रूपान्तरणको क्रममा दुर्बल भाइरसका कैयौं स्वरूपबारे हामी चर्चा नै गर्दैनौं । किनकि, तिनीहरू दुर्बल भएकाले जनसरोकारको विषय रहँदैनन् ।
त्यसैले, समस्यासँग लड्नुपर्छ र लड्न सकिन्छ भन्ने मान्यता बोक्नुपर्छ । भाइरसले आफूलाई रूपान्तरण गरिरहन्छ, नयाँ नयाँ स्वरूपमा आइरहन्छ, लड्न सकिंदैन भनेर आत्मसमर्पण गर्ने मानसिकता राख्नुहुँदैन ।
अनलाइनखबर (डा. वन्तसँग