Badikedar Khabar

सुदुरपश्चिममा सवारी दुर्घटना : ६ महिनामा ९९ को मृत्यु

४८ हजार सवारी साधन कारबाहीमा

अत्तरिया : सुदुरपश्चिम प्रदेशमा पछिल्लो समयमा सवारी दुर्घटना बढ्दै गएको पाईएको छ भने दुर्घटनाबाट मृत्यु हुनेको संख्या पनि बढ्दै गएको छ । चालू आर्थिक वर्षको ६ महिनामा भएका ३ सय ८५ सवारी दुर्घटनामा परी ९९ जनाले ज्यान गुमाएका छन् । ती दुर्घटनामा २ सय १७ जना गम्भीर र ३ सय १३ जना सामान्य घाईते भएका छन् ।

सुदुरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले दिएको जानकारी अनुसार सबैभन्दा बढी मंसिर महिनामा सवारी दुर्घटनामा परि मृत्यु भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । मंसिर महिनामा ९८ ओटा सवारी दुर्घटना हुदा ३८ जनाको मृत्यु भएको छ । त्यस्तै साउनमा ५४ ओटा सवारी दुर्घटनामा ११, भदौमा २६ ओटा दुर्घटनामा १०, असोजमा ८४ ओटा दुर्घटनामा १७ जनाको मृत्यु भएको छ ।

त्यसैगरी कार्तिकमा ८० ओटा सवारी दुर्घटनामा १० जना र पुसमा ४३ ओटा सवारी दुर्घटनामा १३ जनाको मृत्यु भएको कार्यालयको तथ्याङ्कमा देखाईएको छ । सबैभन्दा बढी सवारी दुर्घटनामा २ सय ५ ओटा मोटरसाईकल परेका छन् भने ६७ ओटा जिप कार रहेको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै २ सय ८५ ओटा छाडा पशुचौपाय दुर्घटनामा परी २५ ओटा पशुको मृत्यु भएको छ ।

कार्यालयको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको यसै अवधिमा ४ सय २६ ओटा सवारी दुर्घटनाबाट ९९ को मृत्यु भएको थियो । गत आर्थिक वर्षमा ७ सय ८३ वटा सवारी दुर्घटना भएका थिए । जसमा १ सय ८७ को ज्यान गएको थियो भने ५ सय ८७ घाइते भएका थिए ।

कार्यालयले दिएको जानकारी अनुसार गत वर्षको तुलनामा चालू आर्थिक वर्षमा दुर्घटना केही कम देखिएतापनि मुत्यु संख्या भने बढ्दै गएको छ । ग्रामीण सडकमा समेत दुर्घटना बढेपछि चुनौती थपिएको छ । सुदुरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार सवारी साधनको चापमा वृद्धि, युवापुस्ताले तीव्र गतिमा सवारी हाँक्नु, अटेर गरी सवारी चलाउनु, मदिरा सेवन गरेर ट्राफिक नियमको पालना नगर्दा दुर्घटना बढेको बताईएको छ ।

सुदूरपश्चिममा ४८ हजार सवारी साधन कारबाहीमा

चालू आर्थिक वर्षको ६ महिनामा सुदूरपश्चिम प्रदेशमा ४८ हजार बढी सवारी साधन कारबाहीमा परेका छन् । सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा ट्राफिक नियम उल्लंघन गर्ने ४८ हजार १ सवारी साधन कारबाहीमा परेका सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

ट्राफिक प्रहरी कार्यालय अत्तरियाको तथ्यांक अनुसार गएको साउनदेखि पुससम्म सबैभन्दा बढी १७ हजार ५ सय ३८ मोटरसाइकल, १२ हजार १ सय ८४ जिप र कार, ७ हजार ८ सय १८ ट्रक र ट्याङकर, ६ हजार १ सय १६ ट्याक्टर, २ हजार २ सय ४९ बस र २ हजार ४ सय ९६ अन्य सवारी साधन कारवाहीमा परेका छन् । कारबाहीमा परेका सवारी साधनबाट २ करोड ६७ लाख ८४ हजार ५ सय रूपैयाँ राजस्व संकलन भएको ट्राफिक प्रहरी कार्यालय अत्तरियाको तथ्यांकमा उल्लेख छ ।

ट्राफिक नियमको पालना नगर्ने, मापदण्डविपरीत चलाउने कारवाहीमा परेका प्रहरीले जनाएको छ । सवारी दुर्घटना नहोस् भनी ट्राफिक नियम पालना गराउन कडाई गर्ने गरेको प्रहरीको भनाई छ ।

अघिल्लो आर्थिक वर्षमा ७९ हजार ८९ सवारी साधन कारवाहीमा पर्दा ४ करोड ५७ लाख ६७ हजार राजस्व संकलन भएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा यस चालू आर्थिक वर्षको ६ महिनामा ४८ हजार भन्दा बढी सवारी साधन कारबाहीमा परेका छन् भने २ करोड ६७ लाख भन्दा बढी राजस्व संकलन भएको देखिन्छ ।

सवारी साधनको संख्यामा वृद्धि र ट्राफिक प्रहरीले जाँच कार्यलाई तीव्रता दिएका कारण सवारी साधन बढी कारवाहीमा परेका प्रहरीको भनाई छ ।

सेतो  हिमाल न्युज

याे पनि हेर्नुस्
Loading...