चक्र मल्ल ,डोटी . राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार डोटीको जनसंख्या २ लाख ५ ,हजार ६ सय ६३ रहेको छ । २०६८ सालको जनगणना अनुसार डोटीको जनसंख्या ६ हजार ८३ ले घटेको तथ्याङ्कले देखाएको छ ।
२०६८ सालमा डोटीको जनसंख्या २ लाख ११ हजार ७ सय ४६ रहेको थियो । २०७८ को प्रारम्भिक नतिजा अनुसार महिला १लाख १० हजार ६ सय १७ र पुरुष ९५ हजार ६६ रहेको छ । डोटीमा पुरुष भन्दा महिलाको जनसंख्या १५ हजार ५ सय ५१ जना बढी देखाएको छ ।
२०७८ को प्रारम्भिक नतिजा अनुसार ३६ हजार ८ सय ६ घर संख्याको गणना गरिएको उल्लेख गरिएको छ । डोटीमा परिवार संख्या ४६ हजार १ सय रहेको जनाएको छ । डोटी को लैंगिक अनुपात ८५.९४ रहेको छ ।
परिवारको आकार ४.४६, जनघत्व १०२ रहेको छ । डोटीको बार्षिक बृद्धि दर ०.२८ प्रतिशत रहेको तथ्याङ्कमा सार्वजनिक भएको छ ।
राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० रहेको जनाएको छ । अघिल्लो जनगणनाको तथ्यांकभन्दा २७ लाख मात्रै वृद्धि भएको हो ।
केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत मात्रै छ । यो ८० वर्षकै कम वृद्धिदर भएको विभागको तथ्यांकले देखाउँछ ।
१९९८ सालमा गरिएको चौथो जनगणनाअनुसार नेपालमा जनसंख्या वृद्धिदर १.१६ प्रतिशत थियो । पछिल्लो वृद्धिदर प्रतिशतमा ०.९३ मा झरेको छ। १९९८ साल अघि नेपालको जनसंख्या वृद्धिदर ऋणात्मक थियो। १९९८ को जनगणनापछि अहिले जनसंख्या वृद्धिदर एक प्रतिशतभन्दा तल झरेको छ ।
२०६८ सालको भन्दा ०७८ को जनसंख्या २६ लाख ९७ हजार ९ सय ७६ ले मात्रै बढी हो। ०६८ सालमा २ करोड ६४ लाख ९४ हजार ५ सय ४ थियो। १० वर्षमा १०.१८ प्रतिशत जनसंख्या वृद्धि भएको विभागको तथ्यांकमा उल्लेख छ ।
अघिल्लो जनगणनामा १.३५ प्रतिशत वृद्धिदर थियो।
पछिल्लो तथ्यांकअनुसार कुल जनसंख्यामा १ करोड ४२ लाख ९१ हजार ३११ जना पुरुष (४८.९६ प्रतिशत) र १ करोड ४९ लाख १ हजार १६९ जना महिला (५१.०४ प्रतिशत) रहेको छ। १० वर्षअघि २०६८ सालको जनगणनामा कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ जनामा पुरुष र महिलाको हिस्सा क्रमशः ४८.५ प्रतिशत र ५१.५ प्रतिशत थियो।
हालको प्रारम्भिक नतिजाअनुसार लैंगिक अनुपात ९५.९१ छ। जुन गत जनगणनामा ९४.१६ थियो ।