,नुवाकोट ,नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ को वडा कार्यालयका वडा सचिव सरिता राउतसमेत ३ जना उपर भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राउतसहित तीन जनाविरुद्ध ५३ लाख १ हजार ८५६ रुपैयाँ बिगो कायम गरी विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।
वडा कार्यालयबाट गएको २०७७ चैत २४ गते रातको समयमा सामाजिक सुरक्षा भत्ता वितरण गर्न भनी ल्याएको रकम र विभिन्न शीर्षकबाट उठेको राजस्व रकम शंकास्पद रुपमा हराएको घटना सम्बन्धमा अनुसन्धान हुँदा सो रकम हिनामिना गरेको पाइएको थियो।
वडा सचिव राउत र कार्यालय सहायक रामकुमार गिरीले रकम बैंकबाट लिएर आएको र कार्यालयमा राउत, गिरी र कार्यालय सहयोगी निलप्रसाद मिश्रको रोहवरमा उक्त रकम राखिएको थियो।
साथै, दराजको सेफको चाबी सरिता राउत र रामकुमार गिरीसँग रहेको एवं ढोकाको चाबी निल प्रसाद मिश्रले बोकेको साथै घटनापश्चात कुनै पनि चाबी लगाएको ठाँउमा तोडफोड भएको नदेखिएको, सुरक्षा निकायलाई जानकारी नगराएको साथै सुरक्षाको लागि समन्वयसमेत नगरेको देखिएको र वडा कार्यालयमा रकम राखी घर गएको देखिएको अख्तियारले जनाएको छ।