दार्चुला ,.महाकाली नदीमा नुहाउने क्रममा बगेर बेहोस भएका युवकको मृत्यु भएको छ । शुक्रवार दिउँसो नुहाउनका लागि नदीमा गएका दार्चुलाको व्यास गाउँपालिका–४ का २१ वर्षीय सुवास कुँवरको उद्धार गरी प्रहरीले अस्पताल भर्ना गरेको थियो ।
उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक मनोहर भट्टले बताए । ‘उद्धार गरी जिल्ला अस्पताल भर्ना गरेका थियौं,’ उनले भने, ‘अस्पतालले अहिले मृत घोषणा गरिसक्यो ।’
उनी महाकाली नदीमा बगेपछि स्थानीयबासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उद्धार गरेको थियो । महाकाली नगरपालिका–४ मा कुँवर कोठा भाडामा लिएर बस्दै आएका थिए । कम्प्युटर सिक्नका लागि कुँवर ब्यासबाट खलंगा आएको प्रहरीले जनाएको छ ।