माघ १६, बजारमा कुरिलोको मूल्य चार हजार रुपैयाँ किलोसम्म पुगेको छ। केही समय अघिसम्म होलसेलमा पाँच-छ सयमा पाइने कुरिलो अहिले चार हजार पुगेको व्यापारीहरूले जनाएका छन्।
त्यस्तै पहिले बजारमा सजिलै पाइने कुरिलो अहिले अभाव भएको पनि ग्राहकहरूले जानकारी दिएका छन्।
उत्पादनको अफसिजन भएको र कोरोना भाइरस संक्रमितले खोज्ने भएकाले अहिले कुरिलोको मूल्य अचाक्ली बढेको व्यापारीहरू बताउँछन्। पोहोरसम्म खुद्रामा एक हजार रुपैयाँसम्म बिकेको कुरिलो आइतबार ४ हजार रुपैयाँ किलोमा बिक्री गरेको चाबहिल तरकारी बजारका एक व्यापारीले जानकारी दिए।
‘दुई-चार मुठा ल्याएर बेच्छन्। पहिलेजस्तो धेरै आउँदैन,’ उनले भने, ‘अहिले यसको मूल्य हामीले अपडेट पनि गरेका छैनौं।
उनले भनेजस्तै बजारको वेबसाइटमा कात्तिकदेखि कुरोलोको होलसेल मूल्य अपडेट भएको देखिँदैन।
समितिको तथ्यांक हेर्दा गत चैतमा कालिमाटी बजारको होलसेलमा प्रतिकिलो ५ देखि ६ सय रुपैयाँ कारोबार भएको कुरिलो जेठमा ८ देखि ९ सय रुपैयाँसम्म पुगेको थियो।
असारमा घटेर प्रतिकिलो ४ देखि ५ सय रुपैयाँ पुगेको कुरिलो असोजसम्म पुग्दा प्रतिकिलो नौ सयदेखि एक हजार रुपैयाँ पुगेको थियो।
गत वर्ष माघ दोस्रो साता कुरिलोको होलसेल मूल्य कालिमाटीमा प्रतिकिलो २ सय ८० रुपैयाँसम्म थियो। एकवर्षमै कुरिलोको मूल्यले आकाश छोएको हो।
चितवनमा डेढ विगाह जमिनमा कुरिलोको खेती गर्दै आएका सुमन सुवेदी कोरोना महामारीपछि कुरिलोका दिन फिरेका बताउँछन्। कोरोना सुरू हुनुअघि उनले २ सय रुपैयाँ प्रतिकिलोसम्म कुरिलो बेचेका थिए। कोरोना सुरू भएपछि भने कुरिलोको मूल्य बढ्दै गएर प्रतिकिलो १ हजारसम्म पुगेको उनले बताए।
मंसिरदेखि माघसम्म कुरिलो उत्पादन नहुने र अहिले कोभिडका कारण पनि माग बढेकाले मूल्य बढेको उनको भनाइ छ।‘सिजनमा राम्रोउत्पादन हुन्छ। असोजदेखि कम उत्पादन हुँदै जान्छ। फागुनबाट नयाँ उत्पादन सुरू हुन्छ,’ उनले भने।कुरिलोको तरकारी खाए कोरोनासँग लड्न सहयोग पुग्ने भन्दै मानिसहरू कुरिलो खोजिरहेका छन्। चितवनको भरतपुरमा केही समयअघि फार्मेसी पसलमै कुरिलो बेच्न राखिएको थियो।
सामान्यत: फार्मेसीबाट औषधी बिक्री हुन्छ। चितवनको भरतपुरस्थित एक फार्मेसीले भने बिक्रीका लागि तरकारी पनि राखेको छ।
चितवन मेडिकल कलेजनजिकै रहेको स्मार्ट फार्मेसीका सञ्चालक कमलेश यादवले एक हप्तादेखि कुरिलो पनि बेच्न थालेको बताए।
कोरोना संक्रमितका लागि औषधी बुझ्न आउनेले कुरिलोबारे पनि सोध्न थालेपछि उनले कुरिलो बेच्न थालेका हुन्।
‘कोरोना संक्रमण हुँदा खाने औषधी किन्न आउनेले कुरिलोबारे सोधे अनि मैले बेच्न थालेको हुँ,’ उनले भने, ‘कुरिलो तागतिलो हुन्छ भनेर लैजाने धेरै छन्।’
पश्चिम चितवनको अमृतनगरमा केही वर्षदेखि कुरिलोको व्यवसायिक खेती भइरहेको छ। स्थानीय युवा सुमन सुवेदीले आफ्नै खेतमा कुरिलो उब्जाएर बिक्री गर्दै आएका छन्।
फार्मेसी सञ्चालक यादवले कुरिलोको माग बढेपछि सुवेदीसँग सम्पर्क गरी मगाएर बिक्री गरिरहेको बताए।
चितवनमा अहिले १ हजार ६ सयभन्दा बढी कोरोनाका सक्रिय संक्रमित छन्। उनीहरूमध्ये २२० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने बाँकी घरमै बसेका छन्।सम्पर्कमा आउनेलाई स्वास्थ्यकर्मीले घरमै आराम गर्न र रोग प्रतिरोधात्मक क्षमता बढाउने खानेकुरा खान सुझाव दिने गरेका छन्।
अस्पताल भर्ना भएका अधिकांश कोरोना संक्रमितको उपचार अक्सिजनको सहरामा भइरहेको छ।चितवन मेडिकल कलेजका डाक्टर वसन्त शर्माले कुरिलो चिल्लो पदार्थविहीन, कोलेस्ट्रोल र सोडियम तत्वरहीत, शक्तिदायक, भिटामिन ए तथा सी प्रशस्त मात्रामा भएको उपयोगी खाद्य पदार्थ भएकाले रोग प्रतिरोधी क्षमता बढाउनमा उपयोगी हुने बताए।
उनकाअनुसार यसमा मिनरल र खनिजको मात्रा बढी हुन्छ। विगतमा पनि आफूले सुत्केरी महिला, बालबालिका, वृद्धवृद्धा, क्यान्सर, कलेजोका बिरामी तथा सेतो रगत कम भएका बिरामीलाई कुरिलोको झोल पिउन सुझाव दिने गरेको उनले बताए।
‘रोग प्रतिरोधात्मक क्षमता बढाउने भएकाले अहिले कोरोना भाइरससँग लडिरहेका व्यक्तिका लागि पनि कुरिलो उपयुक्त हुन्छ,’ डाक्टर शर्माले भने।
चितवन मेडिकल कलेजमा गरिएको पिसिआर परीक्षणका क्रममा बाबु र आमालाई कोरोना पोजेटिभ देखिएपछि नवलपुरको गैंडाकोट घर भएका आशिष घिमिरेले कुरिलोको जोहो गरे।
‘कोरोना संक्रमण देखिएपछि स्वास्थ्यकर्मीहरुलाई सम्पर्क गर्दा कुरिलो खोजेर खुवाउन भन्नुभयो। रोगसँग लड्न सघाउँछ भनेपछि महँगो भए पनि कुरिलो खुवाइरहेको छु,’ उनले भने। कुरिलोको बजार मूल्य प्रतिकिलो अहिले ४०० देखि ५०० रुपैयाँसम्म छ।
भरतपुर महानगरपालिकाको वडा नम्बर २५ मा करिब एक विघा जमिनमा लगाएको कुरिलो उत्पादनको मुख्य सिजन अहिले हो। कोरोना महामारीसँगै निषेधाज्ञा गरिएपछि कुरिलोको व्यापार भने खासै राम्रो हुन नसकेको सुवेदीले बताए।
‘हामीले उत्पादन गरेको कुरिलोको माग चितवनमा मात्रै नभएर देशभर थियो। बजारका तरकारी पसलमा बिक्री हुन्थ्यो। तर निषेधाज्ञाले सबैतिर जान सकेको छैन,’ सुवेदीले भने, ‘कोरोना संक्रमितका लागि फाइदा हुने भएकाले उहाँहरूबाट भने माग भइरहेको छ।’
उनले कोरोना संक्रमित आफैंले फोन गरेर कुरिलोको अर्डर गर्ने गरेको बताए।‘जहाँबाट अर्डर हुन्छ, त्यही पुर्याइदिने गरेको छु,’ सुवेदीले भने, ‘फार्मेसीबाट पनि माग भइरहेको छ।’यहाँ अहिले दैनिक ५० किलोसम्म कुरिलोका टुसा बिक्रीका लागि योग्य हुन्छन्।सुवेदीले कुरिलो उत्पादन गरेर बेच्नुका साथै कुरिलोका बिरूवा पनि बिक्री गर्ने गरेका छन्। प्रतिबिरूवा ६० रुपैयाँका दरले उनले बिक्री गर्ने गरेका छन्।
‘करेसाबारी, गमलामा लगाउनका लागि बिरुवाको माग धेरै थियो। त्यहीअनुसार उमारेका बिरूवा अहिले भने निषेधाज्ञाका कारण थन्किएका छन्,’ उनले भने।उनले अहिले ३५ हजार बिरूवा उमारेका छन्। ती मध्ये १५ हजार बिरुवा बिक्रीका लागि हुन्।‘बाँकी आफ्नै लागि हो,’ उनले भने।
सुवेदीले अहिले रातो कुरिलोको खेती पनि सुरू गर्दैछन्। हाल व्यवसायिक खेती गरिरहेको हरियो कुरिलोमा भन्दा रातोमा पोषण तत्व बढी हुने जानकारी पाएपछि यसको खेती पनि सुरू गरेको सुवेदीले बताए।उनले यस वर्षदेखि एक बिघा जमिनमा रातो कुरिलो लगाउने तयारी गरेका छन्।