टीकापुर, कैलाली । कैलालीमा अहिलेसम्म लक्षित उमेर समूहका ६५ प्रतिशत नागरिकले कोरोना विरुद्धको पूर्ण खोप पाएका छन् । खोपको पहिलो मात्रा लगाउनेको सङ्ख्या भने ७१ प्रतिशत पुगेको छ । स्वास्थ्य कार्यालय कैलालीका अनुसार कैलालीमा कोरोना विरुद्धको खोप लगाउने लक्षित उमेर समूह १८ माथिको जनसङ्ख्या ६ लाख ६४ हजार ६८८ रहेको छ ।
जस मध्ये ४ लाख ७१ हजार ९२८ जनाले खोपको पहिलो मात्रा र ४ लाख ३२ हजार जनाले खोपको पूर्ण मात्रा लगाएका जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले जानकारी दिनुभयो ।
कैलाली जिल्लामा आजदेखि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरूलाई पनि मोर्डना खोप लगाउने काम शुरु गरिएको छ । जिल्लामा रहेका १ लाख २० हजार बालबालिकालाई खोप लगाइने र त्यसका लागि अहिले १ लाख ११ हजार डोज खोप जिल्लामा आइपुगेको र सोही अनुसार खोप अभियान सञ्चालन गरिएको प्रमुख धामीले बताउनुभयो ।