काठमाडौं, १८ माघ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको सम्पत्ति छानबिनको माग गर्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पूरक निवेदन दर्ता भएको छ।
वृहत नागरिक आन्दोलनका अगुवा डाक्टर गोविन्द केसीले जबराका भाइको नाममा अवैध सम्पत्ति आर्जन गरेर काठमाडौंका बिभिन्न ठाउँमा करिब ३० करोड बराबरको घर जग्गा खरिद गरेको देखिएको सूचनासहित आज पूरक निवेदन दर्ता गराएका हुन्।
जबराका भाइ प्रभु शमशेर जबराको नाममा गैरकानुनी असुली लगायत अवैध आम्दानीबाट पछिल्लो दुई वर्षको अवधिमा दुई ठाउँमा घर जग्गा खरिद गरेको देखिएको पूरक निवेदनमा उल्लेख छ।
प्रभुका नाममा २०६७ असोज २० गते गोठाटारमा ३० रोपनी जग्गा खरिद गरेको तथा सोही वर्षको मंसिर २४ गते ठमेलमा आठ आना जग्गासहितको घर किनेको निवेदनमा उल्लेख गरिएको छ। केसीले गत मंसिर ११ गते जबराको परिवार तथा आफन्तको सम्पत्ति छानबिनको माग गर्दै विभागमा निवेदन दर्ता गराएका थिए।
आयोगले अनुसन्धान अधिकृत नै तोकेर जबराको परिवार तथा आफन्तका नाममा रहेको सम्पत्ति छानबिन सुरु गरिसकेको जनाएको छ।