Badikedar Khabar

जसपामा विवाद बढ्दो, बैठक बोलाउन अध्यक्ष यादवमाथि दबाब

काठमाडौं – जनता समाजवादी पार्टी नेपाल (जसपा)भित्र देखिएको आन्तरिक विवाद समाधानका लागि बैठक बोलाउन दबाब बढेको छ । पार्टीका अध्यक्ष उपेन्द्र यादव र सोही पार्टीका संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईबीच विवाद रहेकै बेला बैठक बोलाउन दबाब बढेको हो ।

कार्यकारिणी सदस्य इस्तियाक राईले बैठक बोलाउन ढिलाइ भएपनि के कारणले बस्न नसकेको हो थाहा पाउन नसकेको प्रतिक्रिया दिए ।

उनले भने, ‘कार्यकारिणी समिति बैठक बसेको चार पाँच महिना भइसक्यो, अर्को बैठक बसिहाल्नुपर्ने थियो, ढिलो भइरहेको छ, केन्द्रीय समितिको बैठक बोलाउने बेला पनि भइसकेको छ ।’ बैठक नबसेको कारण पार्टीका थुप्रै कामहरू ठप्प रहेको बताउँदै उनले नेतृत्वले चाँडै नै बैठक राख्ने विश्वास व्यक्त गरे ।

नेताहरूका अनुसार जसपाका केन्द्रीय सदस्यहरूको कार्य विभाजन बाँकी छ । कार्यकारिणी समिति विस्तार पनि भएको छैन । यी सबै कार्यका लागि राष्ट्रियसभाको चुनावपछि बैठक बस्ने सहमति भएको थियो । तर चुनाव सम्पन्न भएको एकसाता बितेपनि अध्यक्षले बैठक नबोलाएको भट्टराई पक्षीय नेताहरूको आरोप छ ।

उनी पक्षीय एक नेताले भने, ‘हामी अझै केही दिन कुर्छौ, अध्यक्षजीले बैठक बोलाउनु भएन भने लिखित रूपमै बैठकका लागि माग गर्छौँ । त्यसपछि पनि बैठक बोलाउनु भएन भने त्यसपछि हामी आफै बहुमत सदस्यहरूको बैठक बोलाउँछौँ ।’

ती नेताका अनुसार भट्टराईमा हाल कोरोना पोजेटिभ रहेका कारण मात्रै बैठकका लागि हतार नगरिएको हो । अर्का कार्यकारिणी सदस्य मनिष सुमनले भने पार्टीका वरिष्ठ नेता अशोक राई उपत्यका बाहिर रहेको र परिषद्का अध्यक्ष भट्टराईलाई पनि कोरोना पोजेटिभ भएको कारणले बैठकमा ढिलाइ भइरहेको जस्तो आफूलाई लागेको बताए । उनले छिट्टै बैठक बस्ने पनि विश्वास व्यक्त गरे ।

जसपाका कार्यालय सचिव एवं कार्यकारिणी सदस्य प्रकाश अधिकारीले राष्ट्रियसभाको चुनावपछि बैठक बस्ने कुरा भएको तर अहिलेसम्म बैठकको मिति तय नभएको बताए ।

याे पनि हेर्नुस्
Loading...