१८ माघ, काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको १२ औं राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा तथ्यपरक नभएको भन्दै प्रश्न उठाएका छन् ।
मंगलबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा नेपाली कांग्रेसकी सांसद प्रमिला राईले आफ्नो घरमा जनगणना गर्न गणक नै नआएको बताइन् । सांसद राईले सही तरिकाले जनसंख्याको तथ्यांक नआएको भन्दै पुनः जनगणना गर्न सरकारसँग माग गरेकी छन् ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले काठमाडौंको जनगणना नै तथ्यपरक नभएको बताए । ‘काठमाडौंमा जहिले पनि माइग्रेसन बढी हुन्छ । किन, यो राजधानी हो । यो अस्थायी माइग्रसशन संघीयताले पनि रोकेको छैन । अरु जिल्लामा बढ्ने र काठमाडौं नबढ्ने किन भयो ? यो चिजमा राम्रोसँग हेर्नुस् । कतै राम्रो भएन कि ?’ उनले प्रश्न गरे ।
‘केही त जस्टिफिकेसन हुनुपर्यो नि । कोभिडका कारण विद्यार्थीहरु बसेनन् कि यहाँ ? त्यो बेला घर फर्किए कि ? नत्र भने यो तथ्य मिलेन’ सांसद पाण्डेले भने ।
केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले कोरोनाको असहज परिस्थितिका कारण जनगणनामा केही तलमाथि भएको हुनसक्ने बताए ।