डोटीको बोगटान क्षेत्र, निरौली, गडसेराका हटारुहरुको ‘माल’ (तराई) जाने एक मात्रै नाका थियो ठूलीगाड अर्थात् ‘घोलडास’। सम्म फाँट, फाँटको तल कलकल बग्ने ठूलीगाड। पानीको सहजता र त्यहीबाट ‘माल’ जाने मूलबाटो। ब्रह्मदेउ, मालाखेती, चौमालाबाट नुन किनेर ल्याउने र डोटीहुँदै जुम्लासम्म नुनको व्यापार गर्ने जुम्ली (जुम्लाका व्यापारी) ले त्यो ठाउँ रोजे। नुनको व्यापार गर्न आउजाउ गर्दा जुम्लीले ठूलीगाड किनारमा घोडा बाँध्न थाले। जुम्लीले घोडा बाँध्न थालेपछि ठूलीगाड किनारको समथर भागको नाम राखियो ‘घोलडास’ हो, त्यही घोलडासमा ४० को दसकपछि गडसेरा भामगाउँका उदयसिंह खडायतले व्यापारको ‘भर्जिन’ एरिया देखे। दिपायलमा होटेल चलाएर बसेका खडायत एकाएक हानिए घोलडास। घोलडासमा पहिलो होटेल र ‘दोकान’ खोले उनले। दोकानमा दैनिक उपभोग्य सामान राखेर होटेलमा चिया पकाउन थाले। उनको पसलमा नुन किन्न तराई जाने हटारुहरु रोकिन थाले। उनको व्यापार राम्रै चल्न थाल्यो। त्यही देखेर स्थानीय तापसिंह छेडालले पनि पसल खोले। त्यो बेला दुई पसल सञ्चालनमा आए। विस्तारै हटारुहरु अडिने ठाउँ बन्यो घोलडास। पछि २०४६ ताका देशमा आएको परिवर्तनपछि २०४८ सालतिर लमौते गाउँका पदमराज जोशीले घोलडासमा कांग्रेसका संस्थापक वीपी कोइरालाको मूर्ति राखेपछि घोलडासबाट नाम परिवर्तन भयो ‘वीपीनगर’।