काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारलाई बालुवामा राखेको नक्कली मूलाको संज्ञा दिएका छन्।
नेपाल निजामती कर्मचारी संगठनको ११औँ राष्ट्रिय अधिवेशन शनिबार उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको सरकार जराविनाको मूला भएको बताएका हुन्। उनले सानो मूलाको पनि सानो जरा हुने उल्लेख गर्दै अहिलेको सरकार मात्र पाँच जनाको परमादेशले बनेको सरकार भएको र यसलाई उखेल्ने दिन कुरिरहेको बताए।
सरकारलाई उखेल्न लाग्दा भागिरहेको उल्लेख गर्दै उनले आगामी निर्वाचनबाट पूर्ण रुपमा उखेलिने दावी गरे।
‘मूलाको पनि अलिकति सानोतिनो भए पनि जरा हुन्छ, यसको त जरा न फरा, पाँच जनाले नियुक्त गरेको छ। जरा न फराको सरकार। केही पनि छैन, टपक्क टिप्यो भने उखेलिन्छ। बालुवामा लगेर राखेको नक्कली मूला जस्तो हो यो। फुत्त तान्दा जरोसरो केही पनि छैन, हल्लाउनु पनि पर्दैन, पुक्लुक्क आउँछ’। अध्यक्ष ओलीले भने, ‘हामी खाली यसलाई तान्ने दिन खोजिरहेका छौँ। भाग्न खोजिरहेको छ। भागेर कहाँ जान्छ, कहाँ जान्छ, चुनाव त गर्नैपर्छ।’
अध्यक्ष ओलीले आफ्नो कार्यकालमा नेपाली कांग्रेसका नेताहरुले कर्मचारीहरुलाई सरकारलाई सहयोग नगर्न दबाब दिएको दोहो¥याए। उनले निजामती कर्मचारीहरुले पूर्ण रुपमा सरकारलाई सहयोग गर्नुपर्ने भन्दै सरकार ठीक बेठीक छुट्याएर नबस्न आग्रह गरे।
‘म प्रधानमन्त्री हुँदा नेपाली कांग्रेसले एउटा कर्मचारी भेला गर्यो। सरकारलाई असहयोग गर भनेर कांग्रेसका नेताहरुले आह्वान गरे। कर्मचारीका बीचमा त्योभन्दा अलोकतान्त्रिक सोच के हुन्छ? कर्मचारीलाई असहयोग गर भनेपछि सरकार कसरी चल्छ?’, ओलीले भने, ‘यो सिस्टमविरोधी सोच हो। लोकतन्त्रविरोधी सोच हो। तानाशाहीको अर्को रुप हो त्यो। त्यो रेकर्ड कांग्रेसका नेताहरुबाट आएको अहिलेसम्म पनि छ। म आश्चर्यचकित पनि भएँ, दुःखित पनि भएँ। लोकतन्त्रलाई सही ढंगले कार्यान्वयन गर्दै अघि बढ्नुपर्ने ठाउँमा जिम्मेवार र लोकतान्त्रिक इतिहासमा भाग लिएको जिम्मेवार पार्टीका नेताहरुको सोच, चिन्तन, व्यवहार कस्तो छ?’
उनले कर्मचारीको हिसाबले सरकारको काम गर्नैपर्ने र सरकारलाई सहयोग गर्नुपर्ने बताए। ‘सरकारलाई गलत गर्नबाट जोगाउनुस्। सरकारको तर्फबाट जनतालाई दिने डेलिभरी ठीक समयमा दिनुहोस्। सरकारमा अहिले को छ भन्ने कुरा होइन, तपाईहरु सरकारी कर्मचारी हो, कर्मचारीले सरकारलाई असहयोग गर्छु भन्न मिल्दैन’, नेता ओलीले थपे, ‘नेपाली कांग्रेसका नेताहरुले सुनून्, आज म अपोजिसन लिडरको हैसियतले भन्दैछु, तपाईहरुले सरकारलाई असहयोग गर्न मिल्दैन। तपाईहरुको तर्फबाट सरकारलाई असहयोग गर्ने होइन, साथ दिने, सहयोग गर्ने हो।’
उनले अहिले सरकारमा रहेका केही मन्त्रीहरु परमादेशबाट झुक्किएर पावरमा पुगेको व्यंग्य गरे। उन्मादले उन्मत्त भएर रेस्लिङमा पस्न लागेझैँ गरेर अहिलेका मन्त्रीहरु पावरको आडमा अहंकारी बनिरहेको उनको भनाइ छ।
‘कहिले कहिले खासै स्ट्रेन्थ नभएका, केही पनि नभएका मानिसहरु पनि झुक्कलपुक्कल, अनेक जाल, तिकडम, आदि इत्यादि परमादेश जारी भएका बखत यस्ता हुलमालमा त्यस्ता मान्छेहरु पनि पावरमा पुग्न सक्छन्। त्यसरी पावरमा पुगे भने त्यस्ता मान्छेहरुमा उन्माद चढ्न सक्छ। त्यो उन्मादले देश, जनता, लोकतन्त्रको हित, संविधानको रक्षा, कार्यान्वयनको वास्ता गर्दैन। मै सबथोक छु। मै शक्तिशाली छु भन्ने ठान्छ’, उनले थपे, ‘त्यसरी उसले अहंकार देखाउँछ। कहिले कहिले टेलिभिजनमा मन्त्रीका भाषण देख्दा अचम्म लाग्दैन ? हुम् हुम् हुम् गर्छन्। तपाईहरुलाई अचम्म लााग्दैन ? क्या मन्त्री ? कहाँबाट आयो यस्तो मन्त्री ? कसरी आयो ? कस्तो कस्तो मान्छे ? अखडामा कुस्ती खेल्न पस्दैछ कि ? रेस्लिङको रिङमा पस्दैछ कि ? साधारण मान्छेहरु पनि अचम्म मान्छन्। त्यो के हो भने उन्माद हो। एउटा चिम्पान्जी जब जवान हुन्छ, त्यसमा बलको उन्माद हुन्छ। बलको उन्माद भएपछि त्यसले छाती ड्याम ड्याम हान्छ। उसले कुस्ती खेल्ने जोडी खोजेको, अर्को त्यसैगरी छाती पिट्ने भेट्टायो भने भिड्छ। कहिले काहीँ म हाम्रा माननीय मन्त्रीहरुलाई त्यस्तै त्यस्तै देख्छु। कहिलेकाहीँ धान रोप्दा सामा पनि निस्किन्छ। मुन्तला लगाउँदा ऐँजेरु झनै सप्रिएर आउँछ। यसलाई हामीले लोकतन्त्र ठान्नु हुँदैन। लोकतन्त्रमा परमादेशी सरकारबाट निस्किएका ऐँजेरुहरु यस्तै हो।’
उनले एमालेलाई आगामी निर्वाचनमा पहिलाको जस्तो कमजोर नआँक्न चेतावनी दिए। उनले एमालेले आगामी निर्वाचनमा स्वीप आउट गर्ने दाबी गरे। अध्यक्ष ओलीले एमालेले पाँच वर्ष सरकार सञ्चालन गरेको भए एक्लै ८० प्रतिशतभन्दा बढी भोट ल्याउने दाबी गर्दै चुनावबाट डराउने र एमालेबाट डराउनेहरुले कानुन भन्दै रोएर आफ्नो सरकार ढालेको बताए।
उनले माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालप्रति लक्षित गर्दै आफ्नो सरकार एउटा टेकोले नबन्ने भएपछि अर्को टेको लगाएर बनाएको र उक्त टेको भाँचिएको बताए।
संसदले भत्ता खानेबाहेकको काम गर्न नसकेको उनले टिप्पणी गरे।