Badikedar Khabar

कांग्रेस–एमाले बोरामा पैसा बोकेर चुनावमा जान्छन्, हामीसँग खल्तीमा राख्ने पनि पैसा छैनः खनाल

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाली कांग्रेस र एमालेले सबै ठाउँमा जित्छ भन्नु पैसाको धाक भएको आरोप लगाएका छन्।

शनिबार नेकपा (एकीकृत समाजवादी) इलाम–काठमाडौँ सम्पर्क मञ्चको कार्यक्रममा बोल्दै नेता खनालले यस्तो बताएका हुन्। उनले नेपाली कांग्रेसका गठबन्धनसँग मिलेर चुनावमा नजाने पक्षमा रहेका नेताहरुले पैसाको धाक लगाएर पहिलो नम्बरमा आफूलाई निर्वाचनमा हराउने निर्णय गरेको आरोप लगाए।

खनालले नेपाली कांग्रेस र नेकपा एमाले पार्टी निर्वाचनमा पैसाको बोरा लिएर जाने पार्टी भएको आरोपसमेत लगाए। उनले आफ्नो पार्टीसँग कुनै पैसा नभएको बताउँदै जनता र सर्वहारा वर्गको पार्टीको रुपमा नेकपा एकीकृत समाजवादी रहेको दाबी गरे। सम्मानित नेता खनालले निर्वाचनका लागि आफ्नो पार्टीले विचार, नीति, प्रतिवद्धताको कुरा अघि सारेर व्यवहारिक रुपले अघि बढ्ने बताए।

उनले भने, ‘अब चुनावमा विभिन्न खालका शक्तिहरु अहिले आउँदैछन्। कांग्रेस त बोरामा पैसा बोकेर आउँछ। उनीहरुको चरित्र पनि त्यस्तै हो। हामी सबै जित्छौँ भनिरहेका छन् नि केही काँग्रेसहरुले, त्यो सबै धाक पैसाको हो, अरु केहीको होइन। तर कतिपय कांग्रेस, खासगरी प्रधानमन्त्रीजी, हामी एकतावद्ध भएर जानुपर्छ, गठबन्धन कायम राखेर जाुनपर्छ, भन्नुहुन्छ। कांग्रेसभित्र दुई धार प्रष्ट छ। नेतृत्वले जे निर्णय गर्छ त्यही हुन्छ। अर्को इलेक्सनमा हामी पक्का जित्छौँ। हामीले जित्ने हिसाबले जानुपर्छ।’

नेता खनालले थपे, ‘अरु बोरामा पैसा लिएर आउँछन्, केपी ओली पनि बोरामा पैसा लिएर जान्छन्। कांग्रेसका एकता नचाहने मान्छेहरुले बैठक गरे, उनीहरुले को मान्छेलाई हराउने भन्दा नम्बर एकमा झलनाथ खनाललाई भने। उनीहरुले त्यही ढंगले प्रयत्न गर्दैछन्। एमालेको अर्को बैठक भयो, आफ्नो क्याम्पेन इलाम क्षेत्र नम्बर १ बाट गर्ने भन्ने भयो। केपी ओलीलाई ६ गते लाने रे। के हुन्छ, कति मान्छे भेला गर्छन् हेर्न बाँकी नै छ। त्यति मात्रै होइन उनीहरुले पनि बोरामा नै पैसा लाने हो। यहाँ त एउटै केसबाट १८ अर्ब खाएको कुरा छ। हामीले समातेर जेल हाल्न त सकेका छैनौँ। बिस्तारै होला। तर हाम्रो पार्टी भनेको सर्वहारा वर्गको हो। हामीबोरमा पैसा होइन, खल्तीमा पैसा लिएर पनि हिँड्न सक्दैनौँ। विचार, नीति, प्रतिवद्धताको कुरा अघि सारेर व्यवहारिक रुपले गर्न सक्ने कुरा हामी गर्नेछौँ।’

खनालले देशको परिस्थिति नयाँ मोडतिर अघि बढिरहेको उल्लेख गर्दै नेपालमा उल्टो तरिकाबाट निर्वाचनको प्रक्रिया भइरहेको बताए। उनले देशमा निर्वाचनहरु सामान्यतःराष्ट्रिय निर्वाचन पहिला हुनुपर्ने, त्यसपछि मात्र प्रदेश र स्थानीय निर्वाचन हुनुपर्ने भन्दै विगतमा ऐन, कानुन नबन्दा यी समस्या सिर्जना भएको उल्लेख गरे।

देशमा अझै पनि शोषण, अन्याय र अत्याचार,समाप्त नभएको समेत बताए।

याे पनि हेर्नुस्
Loading...