काठमाडौँ –स्थानीय तहको निर्वाचनमा सुरक्षाका लागि एक लाख संख्यामा म्यादी प्रहरी परिचालन गरिने भएको छ। गृह मन्त्रालयका अनुसार जनपद तथा शसस्त्र प्रहरीसँगै अपुग जनशक्ति म्यादी प्रहरी भर्ना गरी निर्वाचन सुरक्षाको प्रबन्ध मिलाउन लागिएको हो।
जनपद तथा शसस्त्रतर्फ कार्यरत ८० प्रतिशतको हाराहारीमा निर्वाचनका लागि परिचालन गरिने मन्त्रालयले जानकारी दिएको छ। सरकारले ४० दिनका लागि उक्त जनशक्ति भर्ना लिएर निर्वाचन सुरक्षाका लागि परिचालन गर्न लागेको हो।
‘निर्वाचन सुरक्षा रणनीति बनाउँदै छौँ। म्यादी प्रहरी भर्नाका लागि आवश्यक कार्यविधि गृहले अन्तिम रुप लिइरहेको छ। अब जिल्लास्थित प्रशासन कार्यालयमार्फत भर्ना कार्य अगाडि बढाउन आवश्यक निर्देशन पनि दिइने छ,’ गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले भने।
निर्वाचन आयोगले मतदानस्थल र मतदान केन्द्रको संख्या निर्धारण नगरेकाले निर्वाचन सुरक्षाका लागि कति जनशक्ति खटाउने गृहले यकिन गर्न नसकेको उनले बताए।
‘०७४ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचन विरोधी शक्ति पनि भएकाले निर्वाचन सुरक्षामा चुनौती थियो। यसपटक त्यस्तो जोखिम छैन। निर्वाचनमा पहिले जति नै सुरक्षाकर्मी परिचालन गर्ने गृहको योजना छ,’ प्रवक्ता पोखरेलले भने।