काठमाडौँ – जनता समाजवादी पार्टी नेपालबाट विराटनगरको मेयर पदका लागि उमेश यादव, अमरेन्द्र यादव, भूराज राईले दाबी गरेका छन्।
मेयर पदका लागि पार्टीका महानगर अध्यक्ष अमरेन्द्र यादवको नाम चर्चामा रहँदा उमेश यादवले आफ्नो उम्मेदवारी दौड कायम रहेको बताएका छन्।
०७४ सालमा मेयर पदमा उम्मेदवार भएका यादव यसपटक पार्टीले आफूलाई टिकट दिनेमा विश्वस्त रहेको बताउँछन्। वैशाख ३० गते हुने निर्वाचनका लागि उमेश यादव पार्टीबाट महानगरको एक्लो स्पर्धी भएको दाबी गर्छन्।
उनी भन्छन्, ‘पार्टीको एकल उम्मेदवार म नै हुँ। मैले चुनावी दौड छाडेको छैन। महानगरमा अब टक्कर कसैलाई दिनुपर्दा जित्ने हिसाबले म नै लोकप्रिय रहेको छु।’

स्थानीय निर्वाचनको वातावरण बनिरहँदा पार्टीभित्र आकांक्षी र दाबेदारी गर्न पाइने र त्यसमा आफ्नो टिप्पणी केही नहुने यादवको भनाइ छ।
त्यसैगरी, जसपा मोरङका अध्यक्ष राजकुमार यादवका अनुसार मेयरका लागि उमेश यादव, अमरेन्द्र यादव, जयराम यादव र भूराज राईको नाम देखिएको छ।
अध्यक्ष यादवले भने, ‘फागुन २९ गतेभित्र केन्द्रमा यस विषयमा छलफल हुनेछ। त्यसपछि टिकट पाउने उम्मेदवारको विषयमा कुरा प्रस्ट हुनेछ। अहिले नाम भन्न अलि हतारो हुनेछ। अन्य पार्टीको उम्मेदवार रणनीति पनि हेर्न आवश्यक छ।’ राजनीति गर्नेले उम्मेदवारका लागि दाबी गर्न पाउने बताएका अध्यक्ष यादवले यसपटक जसपाको अवस्था बलियो रहेको दाबी गरे।
स्थानीय नेताको बुझाइमा उमेश यादव वा प्रदेश सभासदस्य एवं स्वास्थ्यमन्त्री जयराम यादवलाई महानगरमा राखेर अमरेन्द्र यादवलाई मोरङ क्षेत्र नम्बर ५ बाट प्रदेश सभा सदस्यका लागि तयारी गराउने सक्ने अवस्था पनि रहेको छ। महानगरमा उमेश र जयरामको बढी चर्चा हुने गरेको बुझाइ राखेका ती नेताका अनुसार पार्टीले गर्ने निर्णयलाई सबैले आत्मसात् गरे सबैलाई सहज हुनेछ।
प्रदेश सभासदस्य जयराम यादव भने महानगरको मेयरका लागि कुनै दाबी नभएको बताउँछन्। उनी भन्छन्, ‘मेयर पदका लागि छलफल आवश्यक होला। सुरु भएपछि भनौँला। पार्टीले गर्ने निर्णयमा आफ्नो सहमति रहनेछ।’
स्थानीय नेताको भनाइमा पार्टीभित्र भने अहिले महानगर उम्मेदवारको विषयमा छलफल चलेको छैन। महानगरको विषयले पार्टीमा अहिले प्रवेश नपाएको बताउँदै उनीहरूले जिल्लाका केही नेता वडाका लागि मिलाउने र त्यसपछि मेयरका लागि सहमति जुटाउने रणनीतिमा पार्टी रहेको बुझाइ छ। चर्चामा आएका अमरेन्द्र यादव पार्टी अध्यक्ष उपेन्द्र यादवका छोरा हुन्। त्यसैगरी, पूर्वउम्मेदवार उमेश यादव र प्रदेश सभासदस्य जयराम यादव स्थानीय जतुवा निवासी हुन्।
