काठमाण्डाै – दिसामा पाइने जीवाणु इकोलाइका कारण इलामको सदरमुकाम इलाममा झाडापखाला फैलिएको पुष्टि भएको छ ।
इलाम सदरमुकाम र आसपासका क्षेत्रका बालबालिकासहित ठूला व्यक्तिहरुलाई लगातार बान्ता हुने, पेट ढुस्स हुने र झाडापखाला लाग्नेजस्ता लक्षण देखिएको छ । बिरामी पर्नेमा धेरैजसो बालबालिका छन् ।
स्वास्थ्य कार्यालय इलामका प्रमुख आदित्य शाक्यका अनुसार झाडापखालाका बिरामी बिस्तारै कम हुँदै गएका छन् । अहिलेसम्म गम्भीर बिरामी नपरेकाले उपचारमा पनि समस्या नभएको उहाँले बताउनुभयो । झाडापखाला फैलिएपछि पिउने पानीको नमुना परीक्षण गर्दा पानीमा दिसामा पाइने जीवाणु इकोलाइ भेटिएको शाक्यले बताउनुभयो । मुहानको पानीमा नै इकोलाइ जीवाणु भेटिएपछि त्यो मुहानको पानी नखान इलाम नगरपालिकाका बासिन्दालाई आग्रह गरिएको छ ।
नगरपालिकाले यो मुहानबाट ल्याइएको पानीको वितरण नै रोक्ने तयारी गरेको छ । यस्तै अन्य धाराको पानी पनि उमालेर र शुद्धीकरण गरेर मात्रै खान नगरवासीलाई आग्रह गरिएको छ ।
इलाम नगर क्षेत्रका बालबालिका धेरै बिरामी परेपछि स्वास्थ्य कार्यालयले नगरमा आउने तीन वटा पानीको मुहान र ११ वटा धाराको पानीको नमुना परीक्षणका लागि सुनसरीको इटहरीमा रहेको पानी परीक्षण प्रयोगशालामा पठाएको थियोे ।
प्रयोगशालाले इलाम नगरपालिका-७ मा रहेको कलधाराको पानी पिउन योग्य नभएको प्रतिवेदन दिएको छ ।