Badikedar Khabar

संसदमा प्रधानन्यायाधीश राणाविरुद्धको महाअभियोग प्रस्ताव पेस, एमालेको अवरोध कायमै

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीकै बीच प्रतिनिधिसभा बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाअभियोग प्रस्ताव पेस भएको छ।

आइतबारको बैठकमा राणामाथिको महाअभियोग प्रस्ताव पेश भएको हो। नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले प्रस्ताव प्रतिनिधिसभामा पेश गरेका हुन्।

फागुन १ गते ९८ सांसदको हस्ताक्षरसहित राणाविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको थियो।

महाअभियोग प्रस्ताव पेश गर्दै माओवादी प्रमुख सचेतक गुरुङले प्रधानन्यायाधीश राणाले संविधान, कानुन र न्यायिक मूल्य–मान्यताविपरीत काम गरेको, न्यायिक आचरण र कार्यक्षमतामा अभाव रहेको बताएका छन्।

संसदमा पेश भएको प्रस्तावमाथि सांसदहरुले आफ्नो धारणा राख्नेछन्। महाअभियोग प्रस्ताव पास हुनका लागि दुईतिहाइ सांसदको समर्थन चाहिन्छ।

महाअभियोग छिनोफानो गर्न संसदले महाअभियोग सिफारिस समिति गठन गरिसकेको छ। उक्त समितिमा प्रमुख प्रतिपक्षी एमालेका सांसदसमेत सदस्य छन्।

याे पनि हेर्नुस्
Loading...